प्रधानमन्त्री ओली भन्छन्, दुवै पद छाड्दिँन, जे मन लाग्छ गर्नु!

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूले कुनैपनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने अडान लिएका छन्।

शनिवारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा स्पष्ट पारेको एक सचिवालय सदस्यले बताए।

आजको सचिवालय बैठकले विवाद मिलाउन नसकेपछि दुई अध्यक्षको प्रतिवेदन स्थायी समितिमा लैजाने निर्णय गरेको थियो।

सो बारे प्रधानमन्त्री अ‍ोलीले सचिवालय बैठकमा असन्तुष्टि व्यक्त गरेका हुन। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई ‘लाञ्छनापत्र’ को संज्ञा दिँदै ओलीले त्यसलाई स्थायी कमिटीमा लैजाने कुरामा आफ्नो असहमति रहेको बैठकमा बताएका थिए।

प्रधानमन्त्रीले आजको बैठकको राखेको धारणा बारे एक सचिवालय सदस्यले भने,‘प्रधानमन्त्री ओलीले भोलि बैठक नबसौं, यी प्रतिवेदनमाथी छलफल पनि नगरौं भन्नु भएको थियो,’ ती नेताले भने, ‘हामीले कमिटीमा प्रवेश गरेको प्रतिवेदनलाई छलफल गरेरै एउटा निष्कर्षमा पुग्नुपर्नेमै जोड गर्‍यौं, उहाँलाई एक किसिमको दबाब दिएरै निर्णय गर्‍यौं, अब स्थायी कमिटीमा बिस्तृत छलफल हुन्छ।’

ती नेताका अनुसार आजको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली आउने मुडमा थिएनन्।

नेकपाको स्थायी समिति बैठक आइतबार पार्टी कार्यालय धुम्बाराहीमा दिउसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा ओलीले भोली स्थायी समिति बैठक नराखौ भन्ने प्रस्ताव गर्दा बहुमत नेताहरुले अस्वीकार गरेपछि भोलिका लागि बैठक बोलाइएको छ। तर, प्रधानमन्त्री ओलीले हालको विवादबारे त्यस्ता बैठकको कामनै नरहेको बैठकमा बताएका थिए।

बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए, “तपाईंहरुले कल्पना पनि नगर्नुस् कि म अध्यक्ष पद महाधिवेशनसम्म छाड्दिन र प्रम आगामी निर्वाचनसम्म छोडदिन। तपाईहरुको बहुमतले गरेको निर्णय कार्यान्वयन गर्ला भन्ने कल्पना पनि नगर्नुस्। यस्ता बैठकले गरेका निर्णय कार्यान्वयन गरिन्न।”

 


प्रतिक्रिया दिनुहोस्