३ घण्टा प्रहरी नियन्त्रणमा रहेका नेता पौडेल छुटे

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


काठमाडौं । ३ घण्टा प्रहरी हिरासतमा रहेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल छुटेका छन्। नेता पौडेल पक्राउको चौतर्फी विरोध भएपछि तनहु प्रहरीले उनलाई हिरासतमुक्त गरेको छ।

निषेधाज्ञा तोडेको आरोपमा पौडेललाई आज दिउसो प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेको थियो।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको प्रहरीले जनाएको छ।

रिहा भएपछि वरिष्ठ नेता पौडेलले सरकारले शक्तिको दुरुपयोग गरेको बताएका छन्। साथै प्रहरीले आफूमाथि लाठी प्रहार गरेको बताएका छन्।


वरिष्ठ नेता पौडेल पक्राउ परेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेका थिए। साथै प्रधानमन्त्री केपी शर्मा ओलीई टेलिफोन गरेर तत्काल रिहा गर्न आग्रह गरेका थिए।

सभापति देउवाले प्रधानमन्त्री ओलीसँग वरिष्ठ नेता पौडेललाई नियन्त्रणमा लिनु पर्नाका कारणसमेत सोधेका थिए।

व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने पुलको आज उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो।

काँग्रेसका वरिष्ठ नेता पौडेलले दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको थियो।

युवा सङ्घले नाराबाजी गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो र दमौलीमा मोटरसाईकल र्याली गरेको थियो।

यता नेपाली काँग्रेस निकट नेपाल तरुणदले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गरी निषेधआज्ञा तोड्न लागेपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको थियो।

आन्दोलनकारी सँगै रहेकाका वरिष्ठ नेता पौडेललाई व्यास नगरपालिका–१ तालघरेबाट प्रहरीले गिरफ्तार गरेको हो।

स्थिती तनाव भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार दिउँसो निषेधाज्ञा जारी गरेको थियो।


प्रतिक्रिया दिनुहोस्