किसानहरुको पक्षमा क्यानेडेली प्रधानमन्त्री बालेपछि भारतले भन्यो-‘आन्तरिक मामिलामा हस्तक्षेप’

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


नयाँदिल्ली । भारतका विभिन्न ठाँउमा भइरहेको किसानको आन्दोलनमा क्यानेडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ऐक्यवद्धता जनाएपछि भारतले यसलाई आन्तरिक मामिलामा हस्तक्षेप भनेको छ।

भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतका किसानहरूबारे क्यानाडाली प्रधानमन्त्रीले गलत र अनधिकृत टिप्पणीहरू दिएको भन्दै यो आफ्नो देशको आन्तरिक मामिला भएको बताएका छन्।

भारतमा किसानहरुले गरिरहेको विरोध प्रदर्शनको सिलसिला बुधबार एक हप्ता पुरा भएको छ।

सरकारले ल्याएको कृषि सम्बन्धी तीन ओटा कानुनको विरुद्धमा असन्तुष्टि जनाउँदै किसानहरुले भारतका विभिन्न ठाँउमा प्रदर्शन गरिरहेका छन्।

संसदको गत अधिवेशनबाट सरकारले पारित गरेको कानुनका विरुद्धमा उनीहरुले त्यति बेलादेखि नै असन्तुष्टि जनाउँदै आएपनि पछिल्लो केही समयदेखि आन्दोलन नै गर्न थालेका छन्।

उनीहरुले केन्द्रीय राजधानी नयाँदिल्लीको निराकार संगम मैदानमा शुरु गरेको प्रदर्शन बुधबार एक हप्ता भएको हो ।

आन्दोलन चर्किदै गएपछि सरकारले आन्दोलनकारी किसानहरुलाई वार्तामा बस्न आग्रह गरेको थियो । सरकारको आग्रह अनुसार मंगलबार राती भएको वार्ता पनि विना निश्कर्ष सकिएको छ ।

मंगलबार रातीको वार्तामा सरकारी पक्षले मागहरुको सम्वोधनका लागि छुट्टै समिति बनाउन प्रस्ताव गरेपनि आन्दोलनरत किसानहरुले भने अस्विकार गरेका छन् ।

आन्दोलनकारीका प्रतिनिधिहरु तथा अगुवाहरुसँग भएको वार्ताले पनि सकारात्मक संकेत नदिएपछि आन्दोलन थप चर्किने र लम्बिने संभावना देखिएको छ ।

वार्ता सकारात्मक नभएपछि कृषि मन्त्री नरेन्द्र सिंह तोमरले भने वार्ता राम्रो भएको प्रतिक्रिया दिएका छन।

उनीहरुसँगको वार्ता यही डिसेम्बर ३ तारिख भोलि (बिहीबार) फेरी गर्ने तय भएको पनि उनले जानकारी दिए।

“हामीले आन्दोलनरत किसानहरुका प्रतिनिधिहरुसँग निरन्तर कुराकानी गर्न खोजेका छौँ, तर उहाँहरु छुट्टा छुट्टै गर्न चाहनुहुन्छ, हामीलाई त्यसमा पनि समस्या छैन,” मन्त्री तोमरले भने।

सरकारले किसान र उपभोक्ताकै हितका लागि कानुन ल्याइएको दावी गरेको छ भने किसानहरुले नयाँ कानुनले किसानलाई मर्कामा पार्ने दावी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्