नोट सिरिजका फोनको उत्पादन बन्द गर्दै सामसङ, अर्को वर्ष अन्तिम मोडल आउने

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


सामसङले आफ्ना मोबाइल सिरिजमध्ये केही समय नोट सिरिजलाई निकै महत्व दियो । तर अब भने कम्पनी नोट सिरिजका स्मार्टफोन उत्पादन नगर्ने निष्कर्षमा पुगेको छ ।

ग्यालेक्सी नोट सिरिज बन्द गर्नु अघि सामसङले अर्को वर्ष अन्तिम मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । सामसङले एस र नोट लाइनलाई मिलाएर एस पेन थप गरेर नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ ।

यो नयाँ फोन ग्यालेक्सी नोट सिरिजकै मोडल ग्यालेक्सी नोट २१ हुने र अर्को वर्षसम्म सार्वजनिक हुनसक्ने कोरियाली मिडियाहरुले उल्लेख गरेका छन् ।

केही दिन अगाडि पनि सामसङले नोट सिरिजलाई बन्द गरेर ग्यालेक्सी एस २१ अल्ट्रा र ग्यालेक्सी जेड फोल्ड थ्रीमा एस पेन थप गर्ने खबर गत हप्ता आएको थियो ।

सामसङको यो मोडल २०२१ को अन्तिम ६ महिनाभित्र आउन सक्ने सामसङको एक भित्री स्रोतले उल्लेख गरेको कोरियाली सञ्चारमाध्यमहरुले प्रकाशन गरेका समाचारमा उल्लेख छ ।

सामसङले २०२१ मा आफ्नो नोट सिरिजमा भन्दा पनि फोल्डेबल फोनमा केन्द्रित रहेर काम गर्ने देखिएको छ । २०२१ मा सामसङले फोल्डेबल फोनहरुमा काम गर्ने खबरहरु आइरहेका छन् । कम्पनीले अल्ट्रा थिन ग्लासको रिसर्च तथा विकासमा काम गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्