सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन, रुलिङ गर्ने ओलीको प्रयास ‘असफल’

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भनाभन भएको हो ।

पार्टीका बैठक बस्ने कि नबस्ने, कहाँ बस्ने तथा प्रस्तावमाथि छलफल गर्ने कि नगर्ने विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच मंगलबारको बैठकमा भनाभन भएको हो ।

बैठकमा आफ्ना धारणा राख्दै ओलीले अर्का अध्यक्ष प्रचण्डले आफूमाथि विभिन्न आरोप लगाएर दर्ता भएको प्रस्ताव राजनीतिक प्रतिवेदन नभइ आरोप पत्र मात्रै भएकाले त्यसमाथि छलफल हुन नसक्ने भनेपछि प्रचण्डले प्रतिवाद गर्दा भनाभन भएको हो ।

ओलीले कुनै पनि प्रस्तावमाथि छलफल आवश्यक नै नरहेको र बैठक पनि बस्नु जरुरी नभएको बताएपछि प्रचण्डले ‘छलफल नै हुँदैन, बैठक नै बस्दैन भन्ने तपाईं को हो ?’ भन्दै प्रश्न गरेका थिए ।

प्रचण्डले बीचमै आफ्नो कुरा काटेपछि ओलीले ‘रुलिङ’ गर्न खोजेका थिए । तर, प्रचण्डले ओलीको ‘रुलिङ’को प्रतिवाद गर्दै सचिवालय बैठकमा सबैको हैसियत समान भएको र कसैले कसैलाई रुलिङ गर्न नमिल्ने बताएका थिए ।

‘कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरु के भन्नुहुन्छ ?’ भन्दै प्रचण्डले बैठकमा सहभागी अरु सचिवालय सदस्यलाई सोधेका थिए ।

प्रचण्डको जिज्ञासापछि अन्य सचिवालय सदस्यहरुले बैठक बसेर छलफललाई जारी राख्नुपर्ने मत राखेका थिए । महासचिव विष्णु पौडेलले भने कुनै प्रतिक्रिया नजाएको एक सचिवालय सदस्यले जानकारी दिए ।

पछि महासचिव पौडेल बाहेक सबैजना सचिवालय सदस्यहरुले बैठक र छलफललाई निरन्तरता दिनुपर्ने मत राखेपछि सोहीअनुसार निर्णय भएको थियो ।

ओली र प्रचण्डका ‘प्रस्ताव’माथि नेकपामा औपचारिक छलफल शुरु

सचिवालयको बैठकले दुवै अध्यक्षका प्रस्तावमाथि औपचारिक तथा अनौपचारिक छलफल अगाडि बढाउने निर्णय गरेको पार्टी प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दुवै प्रस्तावमाथि मंगलबारको बैठकमा औपचारिक छलफल शुरु भएको र छलफल अझै नसकिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रवक्ता श्रेष्ठले दुवै अध्यक्षको प्रस्तावमाथि छलफल गर्न बुधबार दिउँसो १ बजे केन्द्रीय सचिवालयकै अर्को बैठक बस्ने बताए ।

छलफल सकिएपछि मात्रै दुवै प्रस्तावका सन्दर्भमा निर्णय हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

गत भदौको अन्तिम साता सकिएको नेकपाको स्थायी कमिटी बैठकले आन्तरिक विवाद समाधान गरेको बताइएपछि त्यसपछि पुनः विवाद चर्किएको छ ।

अध्यक्षद्वय ओली र प्रचण्डको असमझदारीका कारण बढेको विवाद दुवै अध्यक्षले एक–अर्कालाई गम्भीर आक्षेप लगाउँदै पार्टी कमिटीमा अलग्गा–अलग्गै प्रस्ताव दर्ता गर्ने अवस्थासम्म पुगेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली कम्युनिस्ट विचार तथा व्यवहारबाट स्खलिग हुँदै गएको लगायतका आरोप लगाउँदै कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव पेश गरेका थिए ।

वरिष्ठ नेता झलनाथ खनाल तथा माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ समेतको समर्थनमा ल्याइएको उक्त प्रस्ताव फिर्ता गराउने प्रयास सफल नभएपछि ओलीले पनि अर्को प्रस्ताव सचिवालय बैठकमा पेश गरेका थिए ।

प्रचण्डले पेश गरेको प्रस्तावमा लगाइएका आरोपबारे जवाफ फर्काउँदै ओलीले आफ्नो प्रस्ताव सचिवालय बैठकमा पेश गरेका थिए ।

पार्टीले आफूविरुद्ध प्रचण्डले पेश गरेको प्रस्ताव खारेज हुनुपर्ने पनि आफ्नो प्रस्तावमा माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्