चिनियाँ रक्षामन्त्रीलाई सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान

प्रकाशित मिति : माघ ११, २०७७ आइतबार


काठमाडौं । नेपालको भ्रमणमा आएका चीनको चीनको राज्यपरिषद् (स्टेट काउन्सिल) सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाले सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले चिनियाँ स्टेट काउन्सलर तथा रक्षामन्त्री वेइ फेङ्हेलाई गार्ड अफ अनर प्रदान गरेको हो ।

नेपालको १ दिने भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ताको कार्यक्रम समेत छ ।

नेपालको भ्रमण सकेर आइतबार नै फर्किने वेइ फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका थिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरेका थिए ।

चिनियाँ विशिष्ट पाहुना वेइ फेङ्हे २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका हुन् । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।


प्रतिक्रिया दिनुहोस्