शङ्खमूलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौँको शङ्खमूल नजिक आज साँझ भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

अर्का एक जना घाइते भएका छन् । कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३­०२­००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

साँझ ६ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका कोटेश्वर निवासी २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा ७ः२५ बजे मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए।

अर्को मोटरसाइकलमा सवार सानु खान घाइते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ । सिसी क्यामराको श्रव्यदृष्य हेरेपछि मात्रै अन्य घटनाको विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ।

यस्तै, बागलुङको बडिगाड गाउँपालिका–२ स्थित लोकमार्गमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

ललितपुर घर भई गलकोट आएका किरात लामाले चलाउँदै आएको ध१प २६०७ नंको मोटरसाइकल दुर्घटना हुँदा लामा गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते लामाको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

लामाको टाउको, ढाड र खुट्टामा गम्भीर चोट लागेको छ । मोटरसाइकलमा दुई जना सवार भए पनि एक जना सकुसल भएको प्रहरीको भनाइ छ। मोटरसाइकल ६० मिटर तल खसेको छ।

उता, दाङमा पनि बस र मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका–२ कुमलगढीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा १ ख २११० नंको बस र पश्चिमतर्फ जाँदै गरेको लु ४१ प २१३ नंको मोटरसाइकल ठोक्किँदा रोल्पा त्रिवेणी गाउँपालिका–९ निवासी २३ वर्षीय किरण पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

साथै मोटरसाइकलको पछाडि सवार रहेका सल्यान शारदा नगरपालिका–२ निवासी २१ वर्षीय लक्ष्मण बोहरोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। उनको अवस्था सामान्य छ । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस्