सञ्चारकर्मी अर्याल र खड्कालाई कोरोना डिफेन्स अवार्ड

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : २०


काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि पत्रकारीताका माध्यमबाट समाजमा चेतना फैलाउन योगदान पुर्याएका सञ्चारकर्मीलाई कोरोना डिफेन्स अवार्ड – २०२० बाट सम्मान गरिएको छ ।

विगत लामो समयदेखि पत्रकारीता क्षेत्रमा उल्लेखनीय योगदान दिदै आएका पत्रकार रामचन्द्र अर्याल, विष्णु खड्कासहित पाँच जना पत्रकारलाई अवार्ड दिइएको हो ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको फोकस नेपालले एक समारोहबीच उनीहरुलाई सम्मान गरेको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका बाबजुत पनि समाजमा चेतना फैलाउन दिनरात खटेर समाजमा सजकता र सर्तकता अपानाउन जनचेतनामुलक कार्यक्रम एवं समाचार प्रशारण गरेर महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको आयोजक संस्था फोकस नेपालले जनाएको छ ।

एक दशक भन्दाबढी समयदेखि पत्रकारीतामा आवद्ध सञ्चारकर्मी अर्याल हाल हिमालय टेलिभिजनमा समाचार डेस्क सम्पादकका रुपमा कार्यरत छन् । यस्तै एपी वान टेलिभिजनमा रिपोर्टीङ कोअडिनेटरका रुपमा कार्यरत खड्का पनि लामो समयदेखि पत्रकारीता गर्दै आइरहेका छन् ।

सगरमाथा टेलिभिजनका डेस्क सम्पादक रमेश वाग्ले, एबीसी टेलिभिजनकी समाचार प्रस्तोता सन्तोषी अधिकारी र नेपाल टेलिभिजनका समाचारदाता ईश्वर महर्जन पनि अवार्डबाट सम्मानीत भएका छन् ।

“कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार र नागरिक समाजको भूमिका” विषयक विचार गोष्ठी तथा कोरोना डिफेन्स अवार्ड कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सम्मान गरेका हुन् ।

कार्यक्रममा शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताए ।

मन्त्री मानन्धरले नेपालले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियाकै उत्कृष्ठ भएको बताउँदै नागरिक समाजले पनि सकारात्मक काम गरिरहेको बताए । उनले महामारीका समयमा आफ्नो जिउ–ज्यानको बाजी लगाएर सञ्चार, उद्योग, समाजिक, आर्थिक क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको सरकारले उचित सम्मान गर्ने बताए ।

कार्यक्रममा आयोजक फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सामाजिक रुपान्तरणका लागि योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्न पाउनु खुशीको कुरा भएको बताए ।


प्रतिक्रिया दिनुहोस्