प्रधानमन्त्री ओलीको काउन्टर प्रस्ताव : प्रचण्डलाई ‘हेग’को चेतावनी!

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ६ : ३७


काठमाडौं । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पन्ने राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए।

उक्त राजनीतिक प्रस्तावपछि नेकपामा हाल विवाद उत्कर्षमा पुगेको छ।

नेकपा सचिवालयमा छलफलका लागि पेस गरिएको उक्त प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरिएको छ।

ओली राष्ट्रवादी नभएको, भ्रष्टाचारको संरक्षण गरेको, कम्युनिस्ट नरहेको, सरकार सञ्चालनमा असफल भएको लगायतका आरोप अध्यक्ष दाहालले लगाएका छन्।

उक्त प्रस्ताव पेश भएपछि पछिल्लो पटक बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिने बताएका थिए। जसका लागि उनले १० दिनको समय मागेका थिए।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रचण्डको राजनीतिक प्रस्तावलाई काउन्टर दिने दस्तावेज तयार पारेका छन्।

आफ्नो गुटमा रहेका सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल लगायत नेताहरुको सहयोगमा प्रधानमन्त्री ओलीले बुधबार मध्यरातमा ४० पाने प्रस्ताव तयार पारेका छन्। यद्यपी उक्त प्रस्ताव अझै प्रिन्टमा गइनसकेको स्रोतले बतायो।

उक्त प्रतिवेदनमा अनावश्यक आरोपका लागि प्रचण्डलाई माफी माग्न र प्रस्ताव फिर्ता लिन आग्रह गरिएको छ।

यस्तै प्रचण्डमाथि मानवता विरोधी गतिविधी गरेको गम्भीर आरोप लगाउँदै ‘हेग’ पुर्याउने चेतावनी समेत दिइएको छ।

ओलीको उक्त प्रतिवेदनमा प्रचण्डले मानवता विरोधी अपराध गरेको, त्यो विश्वव्यापी विषय भएको भन्दै त्यसमा अन्तर्राष्ट्रिय फौजदारी कानुन आकर्षित हुनसक्ने घुमाउरो चेतावनी दिइएको छ।

त्यसको प्रमाणका रूपमा ओलीले प्रचण्डको एउटा वक्तव्यलाई लिएका छन्।

प्रचण्डले खुलामञ्चमा जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा मैले लिन्छु भनेका थिए।

ओलीले सोही कुरालाई प्रमाणको रुपमा लिएका छन्। बाँदरमुडेको घटना पनि अर्को प्रमाण रहेको ओलीको भनाई छ।

यस्तै, प्रस्तावमा २०७४ सालको स्थानीय निकाय निर्वाचनमा मतपत्र च्यातेर छोरीलाई भरतपुर महानगरपालिकाको मेयर बनाइएको प्रसंग उल्लेख छ।

ओलीले आफू भ्रष्टाचारीको संरक्षक भएको प्रमाणित गर्न समेत चुनौती दिएका छन्। साथै प्रचण्डले नै भ्रष्टाचार गर्न खोजेको आरोप प्रस्तावमा लगाएका छन्।

शान्ति प्रक्रियाका बेला प्रचण्डले बदमासी गरेको र पहिलो पल्ट उनी प्रधानमन्त्री हुँदा अनावश्यक रुपले राज्यको संवेदनशील संयन्त्रमा हस्तक्षेप गरेको आरोप पनि ओलीले दाहालमाथि लगाएका छन्।

 


प्रतिक्रिया दिनुहोस्