फेसबुकले दक्षिण कोरियालाई ६० लाख बढी अमेरिकी डलर जरिवाना तिर्ने

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ४ : ५०


फेसबुकले दक्षिण कोरियालाई ६० लाख बढी अमेरिकी डलर जरिवाना तिर्ने भएको छ।

हिन्दुस्तान टाइम्स टेकका अनुसार दक्षिण कोरियाको व्यक्तिगत सुरक्षा संरक्षण आयोगले बुधबार फेसबुकलाई अरूको व्यक्तिगत सूचना चुहावट गरेको आरोपमा ६० लाखभन्दा बढी अमेरिकी डलर जरिवाना लगाएको हो।

फेसबुकले कोरियाका १ करोड ८० लाख फेसबुक प्रयोगकर्तामध्ये ३३ लाख प्रयोगकर्ताको व्यक्तिगत जानकारी उनीहरूको सहमतिविनै अन्य अपरेटरहरूलाई दिएको आरोप छ।

यो कार्य २०१२ मेदेखि २०१८ जुनसम्म भएको हिन्दुस्तान टेकले लेखेको छ।

जब कसैले फेसबुकको लग–इन मार्फत अर्कै अपरेटरको सेवा प्रयोग गर्छन्, तब ती प्रयोगकर्ताका व्यक्तिगत जानकारी उनीहरूको सहमति बिनै फेसबुकले अन्य अपरेटरलाई प्रदान गरेको व्यक्तिगत सुरक्षा संरक्षण आयोगको भनाइ छ।

यसका लागि कोरियाको व्यक्तिगत सुरक्षा संरक्षण आयोगले फेसबुकविरूद्ध आपराधिक अनुसन्धान नै सुरू गरेको छ।

‘हामीले यो घटनाको अनुसन्धान प्रक्रियामा सकेसम्म सहयोग गरेका छौँ,’ दक्षिण कोरियाको राजधानी सोलस्थित फेसबुक कम्पनीका प्रवक्ताका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘तर व्यक्तिगत सुरक्षा संरक्षण आयोगले आपराधिक छानबिनको नै खोजी गर्नु परेको हुनाले हामी त्यसमा क्षमा माग्छौं।’

फेसबुकलाई यसअघि पनि आफ्नो करोडौं प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी गरेको आरोप लागेको थियो। जसमा फेसबुकका संस्थापक मार्क जुकरवर्गले पनि गल्ती स्वीकार गरेका थिए।


प्रतिक्रिया दिनुहोस्