नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दूमा

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ३ : ५०


काठमाडौं । सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४३ अंक अर्थात् ०.९८ प्रतिशतले बढेर १,८९३.२४ बिन्दूमा पुगेको छ ।

यससँगै नेप्से अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । यसअघि नेप्से परिसूचक २०७३ साउनमा अहिलेसम्मकै उच्च बिन्दू १८८१.४५ बिन्दूमा पुगेको थियो । यसअघिको उच्चबिन्दूभन्दा ११.७९ बिन्दू माथि पुगेको छ ।

बिहीबार नेप्समा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य प्रतिनिधित्व गर्ने सेन्सेटिभ इन्डेक्स २.८५ अंक अर्थात् ०.७९ प्रतिशतले बढेर ३६५.१८ अंकमा पुगेको छ ।

पछिल्लो समय सेयर बजारमा उछाल आउने क्रम सुरु भएसँगै नेप्सेमा दैनिक कारोबार रकम पनि बढेको छ । बिहीबार नेप्सेमा २०१ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख ९१ रुपैँया मूल्य बराबरका एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७० हजार ३ ओटा कारोबारमार्फत् किनबेच भएका छन् ।

लकडाउनपछि सेयर बजार खुल्दा बजारमा क्रमशः उछाल देखिन शुरु भएको हो ।

कोभिड–१९ का कारण लगानीका अन्य क्षेत्र खुम्चिएको र मौद्रिक नीतिले शेयर धितो कर्जा केही खुकुलो बनाएपछि बजार सुदृढ गतिमा अघि बढेको हो ।

यसअघि नेप्से परिसूचक २०५२, २०५७, २०६५, २०७३ मा बुलिस ट्रेन्डको उच्चतम बिन्दूमा पुगेको देखिन्छ ।

२०५२ मा उच्चतम बिन्दूमा पुगेर सुरु भएको वियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म २०६५ को २०६८ सम्म चलेको थियो।

२०७३ को साउनमा शेयर बजार स्याचुरेसनमा पुगेपछि शुरु भएको वियरिस ट्रेण्ड समाप्त हुन पनि झण्डै तीन वर्ष नै लाग्यो ।

लगानीका अन्य विकल्पहरु संकुचित भएपछि लगानीकर्ताहरु शेयर बजारमा केन्द्रीत भएपछि अहिलेको उछाल देखिएको विश्लेषकहरुले बताएका छन् ।

बिहीबार बैंकिङ्ग उपसमूहको परिसूचक बढ्दा नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको हो । बिहीबार बैंकिङ्गका अतिरिक्त जलविद्युत्, म्यानुफ्याक्चरिङ्ग र प्रडक्सन, नेपाल टेलिकमको समेत सेयर सूचीकृत रहेको अन्य समूह र म्युचुअल फण्ड बाहेक अन्य सबै उपसमूहका परिसूचक नकारात्मक छन् ।


प्रतिक्रिया दिनुहोस्