अनाथ भएँ भन्नुपर्दैन, रेखदेख गर्ने सरकार छ: प्रधानमन्त्री

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ३ : २१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताएका छन्।

अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेको बताएका हुन्।

सामाजिक सुरक्षा दिवसका दिन आज भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन हुनु दुस्खको कुरा हुने पनि बताए।

‘कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुस्खको कुरा हो,’ उनले भने, ‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन। सहारा छैन भन्नुपर्दैन। सरकार छ। राज्य छ।’

प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताए।

ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिए ।

उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए ।

योगदान गर्न सक्ने मात्र होइन, अलपत्र, गरीबीको चपेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

अर्को प्रसङ्गमा प्रधानमन्त्रीले अभिभावक गुमाएर सडकमा पुग्नुपरेको पीडा बालबालिकाले भोग्नु नपरोस् भनेर सरकारले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको बताउँदै भने, “हिजो झँै आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव छन्, मानव समाजलाई सभ्य बनाउने बाटोमा सरकार अघि बढेको छ ।”

नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्ने क्रममा रहेको बताउँदै उनले मुलुक छिट्टै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रुपमा उक्लिने विश्वास व्यक्त गरे । “नेपाललाई विकासशील राष्ट्रका रुपमा उभ्याउन हामीले दिगो विकास लक्ष्यका निर्धारित पक्षलाई कार्यान्वयन गर्नु जरुरी छ । हामी गत वर्षदेखि नै १४ वटा मापदण्डमाथि आइसकेका छौँ”, प्रधानमन्त्रीले भन्नुभयो, “अरु मापदण्डमा पनि हामी अगाडि आउँदै छौँ । विकासका सन्दर्भमा हामी अगाडि बढिरहेका छौँ ।”


प्रतिक्रिया दिनुहोस्