पूर्वयुवराज पारसको स्वास्थ्यमा सुधार

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  ३ : ०३


चितवन । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका उनको अपरान्ह छातीमा समस्या आएको थियो।

नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका शाहको समस्या बढ्न थालेपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको थियो।

उपचारका लागि होटल पुगेका चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीले सोमबार राति मुटुमा समस्या देखिए पनि अहिले सुधार आएको बताए। डा.रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित होटल पुगेको थियो।

यसअघि शाहलाई दुई पटकसम्म हर्टअट्याक भएको थियो।

‘उहाँ अहिले पनि होटलमै आराम गरिरहनुभएको छ,’ होटल सेन्ट्रल पाल्म नारायणगढका सञ्चालक सुबोध प्रधानले भने, ‘गएरातिको भन्दा धेरै सुधार आएको जानकारी पाएका छौं।’

दिनभरको धपेडीका कारण स्वास्थ्यमा समस्या आएको सहयोगीहरूले जानकारी दिएको उनले बताए।

शाहको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै चितवनका दुइटै मेडिकल कलेजलाई सोमबार राति उपचारका लागितयारी अवस्थामा रहन भनिएको थियो।

 


प्रतिक्रिया दिनुहोस्