सशस्त्र प्रहरीका जवान जिउँदो सालक सहित पक्राउ

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : १५


काठमाडौं । जिउँदो सालकसहित प्रहरीले आज एक सशस्त्र प्रहरीसहित दुई जनालाई मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ शितली गाउँपालिका–३ झार्लाङ्दी घर भई काठमाडौँ महानगरपालिका–२६ कपुरधारा बस्ने २७ वर्षीय ध्रुवबहादुर मगर र सोही ठाउँमा घर भई काठमाडौँ महानगरपालिका–२६ लैनचौर बस्ने ३१ वर्षीय भीमबहादुर मगर रहेको प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

सालक बोकेर हिँडिरहेको भन्ने सूचना आएपछि दिउँसो १ बजे महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले लोकन्थलीबाट पक्राउ गरी अनुसन्धान गर्दा भीमबहादुर मगर सशस्त्र प्रहरीका जवान रहेको र उनको साथबाट प्रहरीको परिचयपत्र बरामद भएको उहाँले जानकारी दिए।

युरिया मलको ५० केजीको बोराभित्र प्लाइको बाकसमा जिउँदो सालक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ पारेका उनीहरुलाई थप अनुसन्धानका लागि सालकसहित जिल्ला वन कार्यालय भक्तपुरमा बुझाएको छ।

उनीहरुको साथबाट विभिन्न बैंकका चेकबुक, एटिएम कार्ड, मोबाइललगायत विभिन्न सामग्रीहरु बरामद गरेको छ।


प्रतिक्रिया दिनुहोस्