कक्षा १२ को परीक्षा : चिट चोर्दै गरेको भिडियो भाइरल, कलेजमाथि कारवाही हुने!

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ८ : १८


काठमाडौं । कक्षा १२ को परीक्षा जारी छ। कोरोना महामारीका बीच सुरक्षाका मापदण्ड अपनाउँदै परीक्षा सूचारु गरिएको हो।

अहिले परीक्षा चल्दै गर्दा चिट चोरी भइरहेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

कुन कलेज र कुन ठाँउको हो भन्ने कुरा स्पष्ट छैन्। तर, उक्त भिडियोमा सबै विद्यार्थीहरुले मोबाइलमा हेर्दै चिट चोरी गरिरहेको देख्न सकिन्छ।

आफूले लेखिसकेपछि जाँदै गरेका जस्तो देखिने एक विद्यार्थीले उक्त भिडियो बनाएका हुन।

साथिहरुले चिट चोरिरहेको तर्फ मोबाइल तेस्र्याउँदै ती विद्यार्थी भनिरहेका छन्,’इग्जयाम भनेको यही हो है केटाहरु हो, सिर्जना मोबाइलमा, हाम्रो घिसिङ सर पनि मोबाइलमा, यतापनि मोबाइलमा हो, उतापनि मोबाइलमा हो सब केटाहरु, सर छैन । यही हो है केटाहरु इग्जाम भनेको यही हो। मेरो सकिसक्यो।’

सो भिडियो सामाजिक सञ्जलालमा भाइरल भएपछि राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले उक्त भिडियोबारे थप जानकारी खोजिरहेको बताए।

‘कुन जिल्लाको, कुन विद्यालयको हो हामी खोजिरहेका छौं, स्पष्ट जानकारी हुनासाथ कारवाही गर्छौं’, अध्यक्ष पौडेलले भने, ‘त्यस्तो क्रियाकलाप गराउने विद्यालय माथि कारवाही गर्ने कुरा निर्देशिका मै छ।’

परीक्षामा मोबाइल प्रयोग गर्ने, चिट चोर्ने काममा संलग्नलाई फौजदारी कसुर अनुसार कारवाही हुने समेत अध्यक्ष पौडेलले बताए।

यसरी नियम विपरीत परीक्षा सञ्चालन गर्ने केन्द्रको परीक्षा समेत रद्ध हुने उनले बताएका छन्।

अध्यक्ष पौडेलले कुनैपनि विद्यार्थीले परीक्षाहलमा मोबाइल बोक्न नपाउने र सामाजिक दूरी कायम गर्दै परीक्षा दिनुपर्ने बताए।

बोर्डले धेरै केन्द्रमा पुगेर अनुगमन गरिरहेको र विद्यार्थी धेरै भएका कारण सबै परीक्षा केन्द्रमा पुगेर अनुगमन हुन नसकेको अध्यक्ष पौडेलले स्वीकारे।

 


प्रतिक्रिया दिनुहोस्