इटलीको जन्मदरमा कोरोनाको असर

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : ३२


इटली । विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारीले इटलीको जन्मदरलाई पनि असर पारेको छ।

महामारी चलिरहेका बेला इटलीमा अहिले इतिहासमै सबैभन्दा थोरै जन्मदर हुने अनुमान गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अघिल्लो वर्ष पनि १५० वर्षकै सबैभन्दा कम जन्मदर रहेकोमा अहिले अझ घटेर अहिलेसम्मकै सबैभन्दा कम हुने अनुमान गरिएको उनीहरुले बताएका छन् ।

उनीहरुका अनुसार अघिल्लो वर्ष सन् २०१९ मा झण्डै चार लाख २० हजार जन्मिएकामा यस वर्ष सन् २०२० मा झण्डै चार लाख आठ हजार मात्रै जन्मिने अनुमान गरिएको हो । त्यसैगरी सन् २०२१ मा झण्डै तीन लाख ९३ हजार मात्रै जन्मिने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

यो पूर्वानुमान विवरण देशका तथ्याङ्क प्रमुख गियन कार्लो ब्लाङगीअर्डोले मङ्गलबार सांसदहरुका बीचमा प्रस्तुत गरेका हुन।

विषेश गरेर त्रासपूर्ण वातावरण, असुरक्षा, आर्थिक सङ्कटलगायतका कारणले जन्मदर न्यून हुँदै गएको उनले जानकारी दिए।

“इटलीका दम्पतीहरुमा मुख्य गरेर मानसिक र आर्थिक समस्या देखिएकाले उनीहरुले बच्चा जन्माउन कमी गरेको वा जोखिमको रुपमा लिने गरेको पाइएको छ,” उनले भने।


प्रतिक्रिया दिनुहोस्