५ जना मन्त्रीसहित ३० जना उच्च पदस्थलाई कोरोना संक्रमण

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ११ : ११


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अहिलेसम्म ५ जना केन्द्रीय मन्त्री प्रभावित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जितेका छन् ।

कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन् । संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को सङ्क्रमणको जोखिम व्यहोरिसकेका छन् । नेपाली सेनामा उपरथी र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म सङ्क्रमित भइसकेका छन् ।

सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ । सङ्क्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ ।

कोभिड–१९ का बिरामीलाई अस्पतालको शय्यामा राख्नु परेमा प्रतिव्यक्ति रु १५ हजार, सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गर्नुपरेमा ७ हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति रु १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ ।

तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा १ लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री ढकालले भने, ‘कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो ।’


प्रतिक्रिया दिनुहोस्