बालिका हत्या प्रकरण : प्रहरीको गोलीबाट घाइतेको मृत्यु भएपछि बर्दिबासमा फेरि तनाव

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  १० : २०


बर्दिबास । बर्दिबासमा मंगलबार ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएपछि महोत्तरीको बर्दिबास बुधबार बिहानैदेखि फेरि बन्द गरिएको छ।

हत्याविरुद्ध मंगलबार बर्दिबासमै विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय न्यौपानेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो।

त्यसैको विरोधमा स्थानीय बासिन्दाले आज (बुधबार) बिहान साढे ८ बजेदेखि फेरि बर्दिबास बजार र पूर्वपश्चिम राजमार्ग बन्द गराएका हुन्।

बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै मंगलबार राति मृत्यु भएको हो ।

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो ।

बालिका दुई दिनदेखि बेपत्ता थिइन् ।

उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

उनको न्यायको माग गर्दै स्थानिय र परिवारले मंगलबार बिहानैदेखि बालिकाको शव सडकमा राखेर प्रदर्शन गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलबार राति १ बजे न्यौपानेको ज्यान गएको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्