ट्रम्पले लागू गरेको अमेरिकी विदेश नीति खारेज गर्ने बाइडेनको घोषणा

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ०९


काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले चार वर्षको अन्तरालमा डोनाल्ड ट्रम्पले लागू गरेको अमेरिकी विदेश नीति खारेज गर्ने घोषणा गरेका छन् ।

उनले अमेरिका अब विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् । रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् ।

गृहनगर डेलवरको विलमिङ्गटनमा बाइडेनले भने, ‘यो त्यो टिम हो जसले अमेरिकाले पुनरागाम गर्दैछ र विश्वलाई नेतृत्व प्रदान गर्न तयार छ भन्ने देखाउँछ । फेरि एकपटक अमेरिका विश्व मञ्चको केन्द्रमा बस्ने छ । सल्लाहकार तथा सहयोगीहरुलाई सहजता प्रदान गर्ने र सहकार्यको हात फैलाउने छ यो समूहले, हात छोड्ने छैन । हाम्रा मान्यताहरुका लागि डटेर उभिने छ ।’

विश्वका सहयोगी राष्ट्रहरुसँग सहकार्य गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामूहिक स्वार्थका लागि काम गर्न अमेरिका पुनः तयार भएको बाइडेनले मंगलबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बाइडेनले आफ्नो टिममा रहने परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका सदस्यहरुको परिचय गराउँदै आउँदो जनवरी २० मा सत्ता सम्हालेपछि ट्रम्पको ‘एकतर्फी राष्ट्रवाद’ को नीतिबाट अमेरिकालाई अलग गराउने संकेत गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्