नेकपाको भविष्य कठीन मोडमा आइपुगेको छ– महासचिव पौडेल

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ८ : २९


बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आफ्नो पार्टी (नेकपा)को भविष्य कठीन मोडमा आइपुगेको बताएका छन् ।

पार्टी निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल रुपन्देही शाखाले मंगलबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पौडेलले नेकपामा यस अगाडिसम्म अहिले देखिएको जस्तो विवाद कहिल्यै नदेखिएको पनि बताए । महासचिव पौडेलले भने, ‘कठिन र जटिल अवस्थामा आइपुगेको नेकपालाई एकताबद्ध गरेर जनताका अपेक्षा पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने प्रश्न अहिले खडा भएको छ ।’

महासचिव पौडेलले नेकपाको भविष्यसँग देश र जनताको भविष्य जोडिएको बताउँदै पार्टी एकता जोगाउँदै विवाद समाधान गरी अघि बढ्नुको विकल्प नभएको बताए । पौडेलले अन्तिम क्षणसम्म पनि पार्टी एकता जोगाउन लागिपर्ने उल्लेख गरे ।

पार्टीभित्र मर्यादाले सीमा नाघेको बताउँदै उनले सबैले पार्टीको विधि र प्रक्रियाभित्र रहेर छलफल गर्न जरुरी रहेको स्पष्ट पारे । मर्यादा बाहिर गएर भएका आरोपप्रत्यारोप समाधान गर्दै पार्टी पुनः एकताबद्ध हुनेछ भन्दै महासचिव पौडेलले एकताको रक्षाका लागि एक ठाउँमा उभिन सबैलाई आग्रह गरे ।

यसअघि देखिएको पार्टीभित्रको विवाद समाधानका लागि बनेको कार्यदलले ल्याएका प्रस्ताव र निर्णयलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी नै पार्टीको विवाद समाधान हुने विश्वास व्यक्त गर्दै महासचिव पौडेलले आन्तरिक जीवनमा देखिएका समस्यालाई समाधान गर्दै पार्टी एकतालाई अरु बलियो बनाउने गरी अघि बढ्नका लागि प्रयासरत रहेको बताए ।

पत्रकार भेटघाटमा पत्रकारले सोधेको जिज्ञासाको जवाफ दिँदै महासचिव पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा सत्ता समीकरणका विषयमा नभई संवैधानिक अङ्गमा हुने नियुक्तिका विषयमा छलफल भएको बताए ।

अर्थमन्त्री समेत रहेका पौडेलले सरकार देश र जनताका पक्षमा एकपछि अर्को निर्णय गर्दै अगाडि बढेको दाबी गरे । ‘अबको समयमा सरकारका कामलाई प्रभावकारी बनाएर सकारात्मक निर्णय गर्दै जान्छौँ,’ उनले भने । मन्त्री पौडेलले प्रदेशको राजधानी नहुँदा पनि रुपन्देहीलाई कुनै असर नपर्ने स्पष्ट पार्दै सो ठाउँलाई अझै माथि उठाउन विकासका मुद्दालाई ओझेलमा पर्न नदिने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्