बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेर घाइते एक जनालाई हेलिकोप्टरबाट काठमाडौं लगियो

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  ४ : ०८


बर्दिवास । महोत्तरीको बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते एक जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

महोत्तरीमा बेपत्ता पछि हत्या गरिएको अवस्थामा फेला परेकी ६ वर्षीया बालिकाको शव सडकमा राखेर प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले गोली चलाएको थियो ।

घाइते हुनेमा बर्दिबासका ३५ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की रहेका छन्।

बुद्धिराजको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

सोमबार राति हत्या गरिएको अवस्थामा फेला परेकी बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको शव सडकमा राखेर प्रदर्शन गरिरहेकामाथि प्रहरीले गोली चलाएको हो ।

गोली चलाएर प्रहरीले मृतक बालिकाको शव समेत नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीबाट नियन्त्रणमा लिइएको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठी समेत प्रहार गरेको छ । प्रहरीको लाठी प्रहारबाट दर्जनको हाराहारीमा स्थानीय प्रदर्शनकारी घाइते भएका जनाइएको छ ।

आइतबार साँझदेखि हराइरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलावको सोमबार मध्यराति शव फेला परेको थियो ।

आइतबार साँझदेखि हराएकी गुलावको प्रहरी र स्थानीयले खोजी व्यापक बनाएका थिए । सोमबार दिउँसोसम्म खोजी गर्दा पनि गुलावबारे केही जानकारी मिलेको थिएन ।

पछि, बर्दिबासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।

साहलाई नै लिएर खोजी गर्ने क्रममा उनले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो ।

गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको थियो ।

हत्या गरी बोरामा कोचिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । बालिकाको शव फेला परेपछि आक्रोशित स्थानीयले मंगलबार बिहानै हत्या आरोपमा पक्राउ परेका साहको घरमा समेत आगजनी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्