६ वर्षीया बालिकाको हत्यापछि बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर ३ जना घाइते

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  २ : ३२


बर्दिवास । महोत्तरीमा बेपत्ता पछि हत्या गरिएको अवस्थामा फेला परेकी ६ वर्षीया बालिकाको शव सडकमा राखेर प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले गोली चलाएको छ ।

सोमबार राति हत्या गरिएको अवस्थामा फेला परेकी बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको शव सडकमा राखेर प्रदर्शन गरिरहेकामाथि प्रहरीले गोली चलाएको हो ।

गोली चलाएर प्रहरीले मृतक बालिकाको शव समेत नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीबाट नियन्त्रणमा लिइएको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शव नियन्त्रणमा लिन चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । महेन्द्र राजमार्गको बर्दिबास चोकमा शव राखेर प्रदर्शन गरिरहेकामाथि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर स्थानीय श्याम कार्की, अफताब आलम र बुद्धिराज न्यौपाने घाइते भएका छन् । घाइतेहरुको स्थानीय शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

गोली लागेर घाइते भएकाहरुको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठी समेत प्रहार गरेको छ । प्रहरीको लाठी प्रहारबाट दर्जनको हाराहारीमा स्थानीय प्रदर्शनकारी घाइते भएका जनाइएको छ ।

आइतबार साँझदेखि हराइरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलावको सोमबार मध्यराति शव फेला परेको थियो ।

आइतबार साँझदेखि हराएकी गुलावको प्रहरी र स्थानीयले खोजी व्यापक बनाएका थिए । सोमबार दिउँसोसम्म खोजी गर्दा पनि गुलावबारे केही जानकारी मिलेको थिएन ।

पछि, बर्दिबासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।

साहलाई नै लिएर खोजी गर्ने क्रममा उनले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो ।

गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको थियो ।

हत्या गरी बोरामा कोचिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । बालिकाको शव फेला परेपछि आक्रोशित स्थानीयले मंगलबार बिहानै हत्या आरोपमा पक्राउ परेका साहको घरमा समेत आगजनी गरेका थिए ।


महोत्तरीमा बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयले लगाइदिए आगो


प्रतिक्रिया दिनुहोस्