६ वर्षीया बालिका हत्या प्रकरण : आन्दोलन चर्किएपछि प्रहरीले चलायो गोली

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १ : ४३


बर्दिवास । महोत्तरीमा ६ वर्षीया बालिकाको हत्यापछि तनाव बढेको छ ।

हत्या गरिएकी बालिकाको शव स्थानीयले नियन्त्रणमा लिएर सडक प्रदर्शन गरेपछि शवलाई आफ्नो नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको छ ।

प्रहरीले चलाएको रबरको गोली लागेर १ जना स्थानीय घाइते भएका महोत्तरीका प्रमुख जिल्ला अधिकारी सीडीओ कृष्णबहादुर कटवालले जानकारी दिए ।

बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अरुणकुमार साहको घरमा स्थानीयले आगजनी र तोडफोड गरेका छन् ।

बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलाव शाह खातुनको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीय तोडफोड आगजनी गरेका हुन् ।

स्थानीयले आगजनी गरेपछि प्रहरीले आगो निभाउने प्रयास गरिरहेको छ । बालिका हत्याको विरोधमा स्थानीयले सडक समेत बन्द गरेका कारण दमकल ल्याउन समस्या भएको छ ।

आइतबार साँझदेखि हराइरहेकी स्थानीय शहीद आलमकी ६ वर्षीया छोरी गुलावको सोमबार मध्यराति शव फेला परेको थियो ।

आइतबार साँझदेखि हराएकी गुलावको प्रहरी र स्थानीयले खोजी व्यापक बनाएका थिए । सोमबार दिउँसोसम्म खोजी गर्दा पनि गुलावबारे केही जानकारी मिलेको थिएन ।

पछि, बर्दिबासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।

सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।

साहलाई नै लिएर खोजी गर्ने क्रममा उनले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो ।

गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन चापागाईँले जानकारी दिए ।

डीएसपी चापागाईँका अनुसार हत्या आरोपमा पक्राउ परेका साहले आरोप स्वीकार गरिसकेका छन् । ‘प्रारम्भिक बयानको क्रममा उनले हत्या स्वीकार गरिसकेका छन्,’ डीएसपी चापागाईँले भने, ‘हत्याको कारण के हो भन्ने विषयमा अझै अनुसन्धान भइरहेको छ ।’

घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कार पछि हत्या भएको हुनसक्ने स्थानीयको भनाइ छ । तर, प्रहरीले भने शव परीक्षण रिपोर्ट आएपछि मात्रै थप कुरा खुल्ने बताएको छ ।

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको डीएसपी चापागाईँले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस्