दुई ‘विशेष’ नेता पक्राउ परेपछि विप्लव नेकपा आक्रोशित, तत्काल रिहा गर्न चेतावनी

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई ‘विशेष’ नेतालाई नेपाल प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

उनीहरु विप्लव नेकपाको महत्वपूर्ण जिम्मेवारीमा थिए। प्रहरीले पक्राउ गरेपछि नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले विज्ञप्ति जारी गर्दै तत्काल रिहा गर्न चेतावनी दिएका छन्।

साथै उनीहरुलाई शारिरीक यातना दिएमा त्यसको मूल्य अपराधमा संलग्न हुनेहरुलाई ठूलो पर्ने समेत प्रवक्ता प्रकाण्डले उल्लेख गरेका छन्।

यस्तो छ प्रवक्ता प्रकाण्डको पूर्ण विज्ञप्ति

नेपाल कम्युनिस्ट पार्टी

केन्द्रीय समिति

प्रेस विज्ञप्ति

२०७७ मङ्सिर ५ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य क.प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य क.सञ्जीव नेपाली ‘सुवर्ण’ अर्थ विभागको कामका क्रममा काठमाडौँ उपत्यकाको नक्खु इलाकामा व्यवसायीहरूसँगको बैठक परिसरबाट केपी वली सरकारको रामबहादुर थापा गृह प्रशासनले दिउँसो आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरी हिजो दिनभरि बेपत्ता पार्यो। सरकार र गृह प्रशासनको यो जङ्गली एवम् बर्बर शैलीको गिरफ्तारीको हाम्रो पार्टी कडा निन्दा र भत्र्सना गर्दछ। अनाहकमा गिरफ्तार गरिएका क। विकल्प र क। सुवर्णलाई बिनासर्त तुरुन्त रिहा गर्न पार्टी जोडदार माग गर्दछ। अन्यथा उत्पन्न हुने गम्भीर परिस्थितिको जिम्मेवार दलाल वली सरकार, थापा गृह प्रशासन र अपहरणकारी गिरोह हुने कुरा पार्टी स्पष्ट गर्दछ।

हाम्रो पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील अर्थ विभागका कमरेडद्वयलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोगको सरकारी खेतीमा उहाँहरूको राजनीतिक स्वतन्त्रता र मानवअधिकारको वली सरकारले घोर उल्लङ्घन गरेको छ । यसको जति निन्दा गरे पनि कमै हुन्छ।

हाम्रो पार्टी कम्युनिस्ट पार्टी हो । यो देशमा दलाल पुँजीपति वर्गको राज्यसत्ता र वली सरकारले गर्ने राष्ट्रघात एवम् जनघातका विरुद्ध एकीकृत जनक्रान्तिमार्फत सङ्घर्ष गर्दै नेपाली समाजबाट यसको उन्मूलन गर्न निःस्वार्थ ज्यान हत्केलामा राखेर होमिएको पार्टी हो । हाम्रा नेता र कार्यकर्ता कमरेडहरू यो आदर्श र अभियानमा समर्पित छन् । महान् क्रान्तिका मान्छेहरूलाई निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुनेछैन । त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ।

‘चोरलाई चौतारो र साधुलाई शूली’ गर्ने वली सरकार र यसको गृह प्रशासनका विरुद्ध विरोधमा उत्रन राजनीतिक पार्टी, मानवअधिकारवादी, जनवर्ग, बुद्धिजीवी, व्यापारीव्यवसायी, कर्मचारी, पत्रकारलगायत आम जनसमुदायहरूमा हाम्रो पार्टी विशेष अपिल गर्दछ।

क्रान्तिकारी अभिवादनसहित
प्रकाण्ड
प्रवक्ता
मिति : ६ कात्तिक, २०७७


प्रतिक्रिया दिनुहोस्