ओली कार्यकर्ताले पूर्वमन्त्रीमाथि दुर्व्यवहार गरेपछि नेपाल पछि नेता खनालले गरे विरोध

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली गुटका कार्यकर्ताले दुर्व्र्यवहार गरेकोबारे पूर्व प्रधानमन्त्री झलनाथ खनाल बोलेका छन्।

आजै दिउसो वरिष्ठ नेता माधव नेपालले उक्त घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेका थिए।

नेता खनालले शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन्।

‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु।’

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गर्नुका साथै हो–हल्ला गरेका थिए।


प्रतिक्रिया दिनुहोस्