नेकपा विवाद : चितवनमा पूर्वमन्त्रीले ओलीविरुद्ध भाषण गरेको भन्दै हंगामा

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा गुटको राजनीति गरेको भन्दै होहल्ला र नाराबाजी भएको छ।

नेकपा राप्ती नगरकमिटीले गरेको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएको हो।

राप्ती नगरकमिटीका नगर इन्चार्ज मानबहादुर स्याङ्बोले भने, ‘सुरेन्द्र पाण्डेले पार्टी कार्यदलले मदन भण्डारी फाउण्डेसनको गतिविधि अहिलेलाई स्थगित गर्नुपर्छ भनेर सिफारिस गरेको भन्ने जानकारी गराउनासाथ होहल्ला भयो। कार्यक्रम सञ्चालन गर्न सकिएन र स्थगित गर्नुपर्ने बाध्यता पर्‍यो।’ उनले नगर कमिटीको तत्काल बैठक बसी घटनाको भत्सर्ना गर्ने निर्णय गरेको बताए।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल निर्वाचन कमिटीका सदस्य केदार आचार्यले प्रधानमन्त्रीका विरुद्ध निरन्तर बोल्न थालेपछि होहल्ला गरेर बोल्न नदिएको बताए।

उनले भने, ‘मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गरेको आरोप लगाउँदै विरोध गर्न थालेपछि ४५ जना युवाहरुले उनलाई बोल्न नदिएको हो। हामीले बोल्न नदिएपछि प्रहरीले सुरक्षा दिएर लग्यो।’


प्रतिक्रिया दिनुहोस्