सत्तारुढ दल आन्तरिक किचलोमा, गाउँ गाउँमा सैन्य प्रशिक्षण चलाउँदै विप्लवको नेकपा

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूह अहिले गाउँ केन्द्रित ‘तयारी’मा जुटेको छ ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले २०७५ फागुनमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई ‘अपराधिक समूह’ ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । आफूमाथि प्रतिबन्ध लगाइएपछि विप्लव नेतृत्वको नेकपाले शहर केन्द्रित आक्रमणहरु तीब्र बनाएको थियो । त्यसक्रममा उसको आक्रमणको निशानामा परेर केही सर्वसाधारणले समेत ज्यान गुमाउनु परेको थियो ।

तर, अहिले भने विप्लव नेतृत्वको नेकपा गाउँ (आधार इलाका) केन्द्रित ‘तयारी’मा जुटेको हो । विप्लव नेतृत्वको नेकपाले यसअघि ‘शहरमा आक्रमण गर्न गाउँलाई आधार बनाउने’ नीति लिएको थियो । सुरक्षा निकायको विश्लेषणअनुसार उक्त समूहले शहरमा आक्रमण गरी चन्दा शंकलन गर्ने गरेको थियो ।

तर, पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण शहरी क्षेत्रबाट ‘चन्दा शंकलन’ कम हुन थालेपछि विप्लव नेतृत्वको नेकपाले गाउँ केन्द्रित ‘तयारी’ थालेको हो ।

गाउँ केन्द्रित ‘तयारी’अन्तर्गत आधार इलाका निर्माण, राजनीतिक, संगठनात्मक तथा सैनिक प्रशिक्षण शुरु गरिएको विप्लव नेकपा निकट स्रोतले जानकारी दिएको छ ।

सरकारले २ वर्ष अगाडि प्रतिबन्धको घोषणा गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विप्लव नेकपाका नेता–कार्यकर्ताहरुको खोजी तीब्र पारेको थियो । दुवै प्रहरीले संयुक्त रुपमा विप्लव समूहविरुद्ध ‘सर्च एण्ड अरेस्ट’ अभियान सञ्चालन गरेका थिए ।

कोरोना भाइरसको महामारीका कारण विप्लव समूहविरुद्ध प्रहरीको अपरेशन पनि केही ‘कमजोर’ भएको छ । प्रहरीको टोली गाउँ पस्न छाडेपछि अहिले विप्लव समूहका नेताहरु गाउँ पस्न थालेका हुन् ।

उनीहरुले अहिले ग्रामिण जनताका बीचमा गएर ‘भूमिगत रुपमा’ संगठन विस्तार गर्ने, पूर्णकालीन कार्यकर्ता बढाउने र प्रशिक्षण चलाउने अभियान थालेका छन् ।

विप्लव समूहमाथि निगरानी गरिरहेको नेपाल प्रहरीका ‘विशेष टिम’का एक अधिकारी पनि अहिले विप्लव नेतृत्वको शीर्ष नेताहरु गाउँ केन्द्रित भएको बताउँछन् ।

नाम नबताउने शर्तमा प्रहरीका ती अधिकारी भन्छन्, ‘अहिले केन्द्रीय सचिवालयका सदस्य, केन्द्रीय सदस्य र ब्यूरोका इञ्चार्जहरु गाउँ पसेका छन् । उनीहरुले विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका सूचना पनि हामीले पाएका छौं ।’

प्रहरीका ती अधिकारीका अनुसार पछिल्लो समय तनहुँ, सोलुखुम्बु, कालीकोट, जुम्ला र जाजरकोट जिल्लामा विप्लव नेतृत्वको नेकपाका नेताहरुले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्तो प्रशिक्षण तालिममा सैन्य तालिमलाई प्राथमिकता दिइएको थियो ।

यस्तै, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पामा पनि विप्लव समूहले सैन्य तालिम सञ्चालन गर्ने तयारी गरिरहेको सूचना प्रहरीले पाएको छ ।

‘उनीहरुका सबै गतिविधिबारे हामीले जानकारी राखेका छौं । आवश्यकता महसुश भयो भने त्यस्ता सबै अवैध गतिविधि नियन्त्रण गर्ने गरी नै तयारी पनि गरिरहेका छौं,’ प्रहरीका ती अधिकारी भन्छन्, ‘अहिलेसम्म उनीहरुका सबै गतिविधिमा हाम्रो निगरानी छ ।’

ओली–प्रचण्डको विवादमा मौका छोप्दै विप्लव !

सुरक्षा निकायका अधिकारीहरु सत्तारुढ दल (नेपाल कम्युनिस्ट पार्टी नेकपा)मा आन्तरिक विवाद बढेपछि विप्लवले पनि आफ्ना गतिविधि बढाएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच अहिले विवाद छ । दुई अध्यक्षकै विवादका कारण सत्तारुढ नेकपा विभाजनको संघारमा रहेको विश्लेषण समेत भइरहेको छ ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा राम्रो काम गर्न नसकेको र विभिन्न भ्रष्टाचार काण्डमा मुछिएको जस्ता गम्भीर आरोप लगाएका छन् ।

सत्तारुढ दलको आन्तरिक विवादका कारण सरकार अलोकप्रीय भएकाले विप्वलले ‘मौकामा फाइदा’ उठाउन खोजेको सशस्त्र प्रहरी बलका एक अधिकारी बताउँछन् ।

‘अहिले सत्तारुढ दलभित्रको विवादले जनताको बीचमा सरकारको लोकप्रियता केही कम भएको जस्तो हुन गएको छ, जसको फाइदा प्रतिबन्धित समूहले लिन खोजेको छ,’ सशस्त्र प्रहरी बलका ती उच्च अधिकारी भन्छन् ।

सरकारले थप कुनै निर्देशन नदिए पनि यसअघि नै गरिएको निर्णयका आधारमा सञ्चालन गरिएका प्रतिकात्मक कार्यअन्तर्गतका गतिविधि भने जारी रहेको सशस्त्र प्रहरी बलका ती अधिकारी बताउँछन् ।

‘प्रतिबन्धित समूहविरुद्धको अपरेशनका लागि हामी (सुरक्षा) निकायले एक आपसमा सूचना आदानप्रदान गरिरहेका छौं,’ सशस्त्र प्रहरी बलका ती उच्च अधिकारी भन्छन्, ‘पछिल्लो पटक गाउँ केन्द्रित केही गतिविधि बढेको भनेर हामीले तालुक निकाय (गृह मन्त्रालय)मा पनि जानकारी दिएका छौं । अहिले सूचनाको विश्लेषण गर्ने र निगरानी बढाउने काम भइरहेको छ । थप निर्देशन प्राप्त भए प्रतिकार्यमा उत्रिने गरी तयारी अवस्थामै छौं ।’


प्रतिक्रिया दिनुहोस्