अराजनीतिक प्रस्तावको अन्तरनिहीत चक्रव्यूह

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


‘मैले परिस्थिति अत्यन्त गम्भीर देखेको छु । र, पहिलेदेखि भन्ने गरेको छु, यो धम्काएको होइन । तर यस्तो हैरानी, यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरु जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु । यसभन्दा अगाडि यसस्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन । कहिल्यै कसैले यस्ता आरोपहरु लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ ।’
–प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली
पार्टी सचिवालयकै बैठकमा आफ्नो अनुभूति राख्नुहुँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पछिल्लोपटक सिर्जना गरिएको कृत्रिम बबण्डरले सिंगो देशमा चिन्ता सिर्जना भएको छ । पार्टीका दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकलरूपमा सहमतिबेगर र मनोमानीपूर्ण ढंगले बाँडेको “अराजनीतिक प्रस्ताव“ स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यहरुको नांगो भ्रष्टीकरण हो । र, समस्याको जड पनि यही बनेको छ ।

उहाँको यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर बैठकमा प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वादहरु पनि शत्रुवत् र निरर्थक बन्न पुगेका हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।

नेपालको कम्युनिष्ट आन्दोलनमा यस किसिमको गालीगलोजको प्रवृत्ति नयाँ होइन । इतिहासको संक्षिप्त सिंहावलोकन गर्दा यसका मुख्य प्रवृत्ति र पात्रहरूले विभिन्न समयमा आफ्नो अस्तित्व यसरी देखाएको पाइन्छ ः

१. उहिले २०२७–२०३१ सालतिर कामरेड पुष्पलालको व्यक्तित्वबाट तर्सिएका र हीनताबोधले ग्रस्त लिलिपुटहरूले आनन्दबहादुर क्षत्रीका नाममा “गद्दार पुष्पलाल“ नामक अराजनीतिक दस्तावेज लेखेर गालीगलोज र बदनामीको मोर्चा नै कसेका थिए । २०३१ सालको चौथो महाधिवेशन त्यसै मोर्चाबन्दीबाट सिर्जित विभाजनकारी धारा थियो र पछि पुष्पकमल दाहाल त्यही धारामा प्रवेश गरेर दीक्षित एक प्रतिनिधि पात्र मात्रै रहेको तथ्य विशेष स्मरणीय छ ।

२. “गद्दार पुष्पलाल“ का लेखक आनन्दबहादुर क्षत्री उर्फ मोहनविक्रम सिंहले २०५०÷५१ सालतिर आएर त्यस तथाकथित दस्तावेजको नाम परिवर्तन गरी “क्रान्ति वा भ्रान्ति“ बनाई पुस्तक नै छापेर प्रायश्चित्त गर्नुप¥यो । कम्युनिस्ट आन्दोलनका संस्थापक महामन्त्री र माक्र्सवादी सिद्धान्तका प्रमुख नेपाली नेता कामरेड पुष्ललाललाई गद्दार करार गर्ने आनन्दबहादुर क्षत्रीको अक्षम्य गल्तीलाई उहाँकै समूहले पछि मतदानमार्फत नै परास्त र खारेज गरी चित्रबहादुर केसीको नेतृत्वमा सच्याउने निर्णय गरेको थियो ।

३. चौथो महाधिवेनको शिक्षादीक्षा अनि सेक्टर काण्डबाट पुष्पकमल दाहालकै नेतृत्वमा चलाखीपूर्ण उदयको सेरोफेरोअघि भरत दाहालले मोहनविक्रम सिंहविरूद्ध २०४२ सालमा “अराजकतावादी व्यक्तिवाद ः दक्षिणपन्थी अवसरवादको नेपाली आयाम“ पुस्तिका नै लेखेका थिए । “गद्दार पुष्पलाल“ लेखेर स्थापित नेतृत्वलाई खुइल्याउने पुरानै तरिकाको प्रहारमा कालान्तरमा स्वयं आनन्दबहादुर क्षत्री नै पर्नुप¥यो – खुर्सानी रोपेर खुर्सानी फलेजस्तै ! काशीतिर लागेर कुती त पुगिदैंनथ्यो नै । अहिले हरहिसाबले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न नसकेर जलन र छटपटीका साथ यस किसिमको बदनाम कार्य गरिएको छ । म, मेरो परिवार, मेरा छोराछोरी, मेरा नातागोता, ते¥ह पुस्ताभित्रका भाइबन्धुहरु तथा आफ्नो गुटस्वार्थमा लिप्त व्यक्तिले नै अनुचित आरोपको खेतीमा आफूलाई उतार्नु लज्जाजनक कृत्य नै हो ।

४. अहिले पुष्पकमल दाहालले पार्टी सचिवालयमा स्वेच्छाचारी ढंगले र अनधिकृत रूपमा प्रस्तुत गरेको “अराजनीतिक प्रस्ताव” त्यही बदनाम स्कूलिङ र षडयन्त्रकारी तेजोबध सिद्धान्तको नयाँ तुरूप मात्र हो । यस्तो तुरूप र संस्कारहीनताले नेपाल कम्युनिस्ट पार्टी त उभो लाग्दैन नै, यसले संक्रमणकालमा रहेको एकीकृत पार्टीलाई “भत्केको पार्टी“ मात्रै बनाउने निश्चित छ । एकता नै मन नपरे वा एकताबाट आफ्नो निहीत स्वार्थसिद्ध नभएको ठानेमा आफ्नो बाटो लाग्ने स्वतन्त्रता छ । तर नेतृत्वको चरित्रहत्या, शृङ्खलाबद्ध बदनाम अभियान र लाञ्छनायुक्त झूठको त्यान्द्रो समातेर पार्टी कब्जाको जंघार तर्न खोज्नु किमार्थ राजनीतिक तरिका होइन । यो हाकाहाकी अपराध हो । षड्यन्त्र र अपराध किमार्थ राजनीति होइन र मानिदैन । वैधानिक प्रावधान, प्रक्रिया र संकमणकालीन अभ्यासका हिसाबले यसबाट पार्टी विधान, एकताको सहमति र समझदारीको ठाडो उल्लंघन गरिएको छ ।

५. यस्तो षड्यन्त्रमा सामेल भएका व्यक्तिले पार्टीको नेतृत्व गर्ने, अझ एकीकृत पार्टी हाँक्ने ल्याकतको त अब कल्पना नै गर्न सकिँदैन । अझ जोसँग पार्टी एकता गरेर विघटन र विसर्जन नै भइरहेको आफ्नो पूर्ववर्ती समूहलाई नेकपाको नयाँ बल, शक्ति र जनाधार प्राप्त गरिएको हो, त्यही नेतृत्वमाथिको यस प्रहारले एकै ठाउँमा सँगसँगै बस्न मिल्ने नैतिक धरातलसमेत समाप्तप्रायः गरेको स्पष्ट छ । नेकपा कसैको निजी क्लब होइन, जहाँ जे पायो त्यही कुण्ठा, असन्तुष्टि र तथ्यहीन गालीगलोजयुक्त “अराजनीतिक प्रस्ताव” छलफलको विषय बनोस ! यस्तो नीचताको प्रदर्शन देशका दुई तिहाई जनताबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा ऐतिहासिक रूपमै हासिल विजय र जनविश्वास प्राप्त सत्तारूढ दललाई त शोभनीय हुनैसक्दैन । यो लिलिपुटको छटपटीबाहेक अरू केही होइन । समयमै नसुध्रिएमा यस्ता लिलिपुट इतिहासको गर्तमा खलपात्रका रूपमा स्वयं पतन, नांगेझार र समाप्त हुनु अनिवार्य छ ।

६. यो बदनाम “अराजनीतिक प्रस्ताव” र कथित “एक्स्पोज” को दुर्नियत र षड्यन्त्र छर्लङ्ग भइसकेको छ । विभिन्न परिचालित पानी अनलाइनहरू, छोरीबुहारीका पोष्यपात्रहरूका गोजी अनलाइनहरू, स्वघोषित बडीगार्डहरूका मिडियाहरू अनि तथाकथित स्रोतको हवाला दिदै विभिन्न सञ्चारमाध्यममा योजनाबद्धरूपमा सार्वजनिक गरिएका र गराइएका झूठमूठका अपराधपूर्ण सम्प्रेषणहरूको साथै सोसल मिडियामा परिचाालित खेतालाहरूका समूहले फेक आइडीबाट गरिरहेका गालीगलोजको सारसंग्रहका रूपमा प्रस्तुत “अराजनीतिक प्रस्ताव” चोरबाटोबाट सचिवालयसम्म पु¥याइएको भन्ने बहानाबाजीसाथ गुट प्रवक्ताका रूपमा दुरूपयोग भइरहेका पात्रमार्फत व्यापक मिडियाबाजी गरिएको छ । यदि पार्टीमा छलफलका लागि प्रस्तुत गरिएको थियो भने जुनकुनै विषयलाई नियत नबाङ्गिएको अवस्थामा यसढंगले बिस्कुन छरिनुपर्ने त थिएन । यो अर्काे खेदजनक नांगो नाच नै हो ।
७. कार्तिक २२ गतेको लाञ्छनायुक्त निवेदन, त्यसमा लेखिएका गलत विषयहरूमाथि प्रष्ट पार्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीले सचिवालयका आठैजना सदस्यलाई गर्नुभएको आन्तरिक पत्राचार, त्यसबाट तिल्मिलाएर पुष्पकमल दाहालले लेख्नुभएको जवाफ र उहाँको “अराजनीतिक प्रस्ताव” तथा दैनन्दिनका गुट बैठक, ब्रिफिङ र डिब्रिफिङका गुटधन्दाहरू सार्वजनिक नै छन् । यी सबै गोप्य पत्राचार र सामग्री कर्तव्यच्यूत मानिसहरूबाटै सार्वजनिक गरिएको छ ।

८. प्रधानमन्त्री, उहाँलाई साथ दिने मन्त्री, सचिवालयको टिम र नेता कार्यकर्ताहरूविरूद्ध निरन्तर हुँदै आएको दुश्मनीपूर्ण हमलाको षड्यन्त्रकारी कारखाना कहाँ स्थापना भएर सचालन भएको रहेछ ? र, यस अपराधकर्मको असली निर्देशक को रहेछ ? यस “अराजनीतिक प्रस्ताव”का लेखकले तिनै षड्यन्त्रमूलक र योजनाबद्धरुपमा प्रचारित सामग्रीहरूको सदुपयोग गरेको दृष्टान्तबाट कुरा झनै छर्लङ्ग भएको छ ।

९. सरकारलाई असफल र बदनाम गराउन विगत तीन बर्षदेखि छद्मरूपमा को सक्रिय रहेछ ? अहिले बिरालो म्याउँ गरेपछि त सारा कुरा प्रष्ट भएको छ । प्रमुख विपक्षी र अन्य विपक्षी दल तथा तिनका नेतृत्वले समेत गर्न नसकेको प्रधानमन्त्री, सरकारमाथिको यस कायरतापूर्ण हमलालाई अब सारा दुनियाँले सहजै बुझ्ने सन्दर्भ र दृष्टान्त मिलेको छ ।

१०. अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पुष्पकमल दाहालले अख्तियार गरेको प्रतिशोधको बाटो खेलको नियम उल्लंघन र हाकाहाकी जालझेल हो । यस्ता जालीझेलीले इतिहास र जनताको कठघरामा उभिनैपर्छ । यो अस्थिरता रूचाउनेहरू, खासमा ९÷९ महिनामा सरकार बदल्न बानी परेका तत्वहरुले गरिरहेको जनता र राष्ट्रविरोधी गतिविधि क्षम्य छैन । एकीकृत पार्टीमा मिसाएको आफ्नो हैसियत हेरेर र सम्झेर आफनो असलियत बुझ्न, सम्हालिन र अराजनीतिक प्रस्ताव फिर्ता लिनुबाहेक अर्को कुनै उपाय छैन । गल्ती गर्नेले नै त आफ्नो गलत कार्य सच्याउने जिम्मेवारी हुन्छ । अन्यथा उत्पन्न परिस्थिति र परिणामको भागिदार स्वयंले बन्नुपर्दछ । र, परिणाम भेग्नुपर्छ ।

११. प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको जिम्मेवारी कसैको कृपामा पाउनुभएको होइन । वाम गठबन्धन भएर तत्कालीन नेकपा (एमाले)को समर्थन नपाएको भए पुष्पकमल दाहाल स्वयं चितवनबाट चुनाव जितेर प्रतिनिधि सभामा आउने हैसियत थिएन । खासमा रोल्पा, काठमाडौं, सिरहामा डुल्दै हिड्न बाध्य आफ्नै पराजयको वास्तविक डरले उहाँ वाम गठबन्धन गर्न तयार भएको तथ्य जगजाहेर छ । अनि, यो सरकार बनाउँदा नै बखेडा झिकेर सहमति नगर्दा लालबाबु पण्डित र थममाया थापालाई मात्रै मन्त्री नियुक्त गरी २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीले शपथ गर्नुभएको होइन र ? अरूलाई प्रधानमन्त्री बनाएको गुड्डी हाँक्नुभन्दा त्यतिबेला म हुन्छुसम्म भन्न सकेको वा भन्नसक्ने हालत भए त हुन्थ्यो नि ! यस्तो बल, बुँता र नैतिक धरातल नै उहाँसँग थिएन । उहाँलाई गठबन्धनमा ४० प्रतिशत उम्मेदवार उठाउन दिँदा २९ प्रतिशत मात्रै सिटमा विजय प्राप्त भएको तथ्यले उहाँको लोकप्रियताको हालत स्पष्ट गर्दछ । अहिले अरूको ढाडमा टेकेर केपी शर्मा ओलीको टाउकामा प्रहार गर्ने कृतघ्नता उहिले युद्धकालमा काम लागेको थियो भने पनि प्रतिस्पर्धाको तीब्र जटिलतामा आज कदापि काम लाग्दैन ।

१२. फर्केर हेर्दा यस प्रपञ्चको पृष्ठभूमिमा मोहनविक्रम सिंह, निर्मल लामा, मोहन वैद्य, सीपी गजुरेल, डा.बाबुराम भट्टराईहरूको हविगत कस्तो बनाइयो र भयो ? मूलतः पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठहरूका भूमिका जगजाहेर नै छन् । र, फेरि अहिले दुईजना नै शत्रुवत् भूमिकामा उत्रिएको स्पष्ट देखिएको छ । तर के स्पष्ट हुनु जरूरी छ भने माथिका सबै नामहरू र केपी शर्मा ओलीबीच निकै अन्तर छ र यस चक्रव्यूहलाई उहाँले परास्त गर्ने सामथ्र्य राख्नुहुन्छ । साथै, पृथ्वी उल्टिए पनि कसैका गलत लाञ्छनाहरु स्वीकार गर्नुहुन्न । गलत विचार, प्रवृत्ति र रवैयासँग सम्झौता गर्नुहुन्न । पाँच बर्ष सरकार सञ्चालन गरी स्थायित्वको च्याम्पियन नेकपा बन्ने अवसर अझै अन्त्य भएको छैन । आफूलाई लोकप्रिय दाबी गर्नेहरु हरेकले पार्टी महाधिवेशन र आम निर्वाचनका माध्यमबाट प्रमाणित गर्न हिम्मत गर्नु राम्रो हुन्छ । कोठे बैठक, गुटगत सक्रियता र तिनका निष्कर्षहरुका आधारमा चल्न खोज्दा अरुले तिनलाई मानिदिनुपर्ने कुनै बाध्यता हुँदैन । अर्थात्, पार्टी अध्यक्ष बन्न एकता महाधिवेशन र प्रधानमन्त्री हुन आम निर्वाचनमा होमिएर पौरख गर्न सक्नुपर्छ । किनभने, महाधिवेशन र आम निर्वाचनको म्याण्डेट प्राप्त गरेर नै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र मुलुकको नेतृत्व प्राप्त गर्नुभएको तथ्य सबैमा स्पष्ट नै छ । यसमा अन्यथा चोचोमोचो र चाचूँ जरुरी नै छैन ।

विगतमा गरिएका हरेक विभाजनकारी प्रयास र हर्कतहरुविरूद्द लड्दै उहाँको नेतृत्वमा मुलुकको कम्युनिस्ट आन्दोलन आजको उचाइमा स्थापित भएको तथ्य र परिणाम निर्विवाद छ । तर पार्टी सञ्चालनको जिम्मेवारीमा आसीन भएर सरकारका राम्रा कामको प्रचारप्रसार गर्नु त के विवाद र बखेडा मात्रै सिर्जना गरेर आत्मनिन्दा र भ्रत्र्सनाको यस शैलीबाट कहाँ पु¥याउँछ ? तसर्थ ः दशकौं नेतृत्व ओगटेर बस्दा उल्लेखनीय केही काम गर्न नसकेको यो कुण्ठा, द्वेष र इष्र्या प्रदर्शन पार्टी, देश र आन्दोलनको हितमा होइन । जनतासँग गरेको स्थायित्व, विकास र समृद्धिको वचनबद्धता एवं सरकारले निर्धारण गरेको राष्ट्रिय आकांक्षा हासिल गर्नेगरी जनभावनाअनुरूप क्रियाशील हुनु नै यतिबेला यस्ता सबैखाले नक्कली समस्या र प्रपञ्चहरूको वास्तविक र सही समाधान हुन जान्छ । अन्यथा, विनासकाले विपरीत बुद्धिले सर्वनाशमा पु¥याउने निश्चितप्रायः नै छ ।

पार्टी पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको संघारमा उभिएको छ । प्रधानमन्त्रीले आगामी महाधिवेशनमा पार्टी अध्यक्ष र आम निर्वाचनमा पुनः प्रधानमन्त्री हुनेगरी चुनावी प्रतिस्पर्धा गर्दिन भनी नै सक्नुभएको छ । तसर्थः ३२ बर्ष, १६ बर्ष र १४ बर्षसम्म पार्टीको मुख्य नेतृत्व गरिसक्नुभएका र सरकार प्रमुखसमेत एकपटक र पटकपटक रहिसक्नु भएका नेता गणहरुले हाल प्रदर्शन गरिरहनुभएको आश्चर्यजनक रवैया र व्यवहार छाडिहाल्नु पर्दछ ।

पार्टी सचिवालयले क्रमशः कोर अफ लिडर्सको ‘भनिएको हैसियत’ स्वयं गुमाइरहेको अनुभूति सबैलाई हुन थालेको छ । यसैकारण पार्टी महासचिव विष्णुप्रसाद पौडेलले सचिवालयका सदस्यहरुले यही चाला देखाइरहने हो भने पार्टीको समाप्तिका कारक र अन्तिम मलामी हुने स्थिति सिर्जना भएकाले सामूहिक राजीनामाका लागि तयार हुन तथा स्थायी कमिटीसमक्ष त्यस्तो प्रस्ताव लिएर जान भन्नुभएको हुनुपर्छ । पार्टीको समग्र हित, एकता र अग्रगतिको नेतृत्व गर्न नसक्ने हो भने वरिष्ठ नेताहरु सल्लाहकार बनेर नयाँ पिंढीलाई मार्गप्रशस्त गर्नु नै समस्या समाधानको उपाय हुनसक्दछ । नयाँ पुस्ताको नेतृत्व विकासलाई यसरी नै अवरोध र बन्ध्याकरणजस्तो गरिरहने हालको सर्वथा नकारात्मक भूमिका खेलिरहेका पटके परीक्षित र अस्ताइरहेको घामजस्तै हालतका नेताहरुले राष्ट्रलाई नयाँ नेतृत्व विकासको प्रक्रियालाई सकारात्मक सहयोग गरेर जिम्मेवारी सुम्पिन तयार हुनुपर्दछ ।

भारतमा नरेन्द्र मोदीले १५ जना वरिष्ठ नेताहरुलाई मार्गदर्शन समितिमा सीमित नगरिदिएका भए त्यहाँ पनि यस्तै कचकचपूर्ण नै अवस्था भोग्नुपर्दथ्यो होला कि भन्ने हेक्का राखेर अघि बढ्नु अत्यावश्यक भएको छ ।


प्रतिक्रिया दिनुहोस्