दुबै अध्यक्षको उपस्थितिमा नेकपा सचिवालय बैठक सुरु

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नौ जनै सदस्य सहभागी भएका छन् ।

यसअघि आज प्रधानमन्त्री केपी शर्मा ओलीले १ बजे नै मन्त्रिपरिषद् बैठक बोलाएका थिए । पूर्वनिर्धारित सचिवाल बैठकलाई प्रभावित पार्न उनले यस्तो गरेको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले गरेको थियो । तर पछि मन्त्रिपरिषद् बैठकलाई एक घन्टा पर सारेर प्रधानमन्त्री ओली पनि सचिवालय बैठकमा उपस्थित भएका हुन् ।
ओली सचिवालय बैठकलाई रोक्न चाहन्थे ।

कात्तिक २८ को सचिवालय बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि ३ मंसिरमा छलफल गर्ने तय भएको थियो । तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठक सार्न प्रयास गरिरहेका थिए।

अध्यक्ष ओलीको सन्देश लिएर पार्टी महासचिव विष्णु पौडेल मंगलबार बिहान अर्का अध्यक्ष प्रचण्ड कहाँ पुगेका थिए ।

प्रधानमन्त्री उपस्थित नभए पनि बुधबार बैठक बस्ने अडान प्रचण्डले राखेपछि पौडेल फर्किएका थिए ।

मंगलबार राति नै नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेकी थिइन् । रातदूत यान्छीसँगको भेटलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

प्रधानमन्त्री ओली शीतल निवास पुग्नुअघि नेकपाका कार्यकारी अध्यक्ष दाहालले पनि राष्ट्रपतिलाई भेटेका थिए । प्रधानमन्त्री बुधबार दिउँसो पनि राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्