प्रधानमन्त्रीका सल्लाहकार भन्छन्, ‘प्रचण्डको प्रस्ताव भ्रमको पुलिन्दा, पार्टीमा छलफल हुन सक्दैन’

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  २ : ४०


काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव नेकपा बैठकमा छलफल हुनै नसक्ने बताएका छन्।

शुक्रबारको नेकपा सचिवालय बैठकमा नेकपा अध्यक्ष दाहालले एकल राजनीतिक प्रस्ताव पेश गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्।

प्रचण्डले एकतर्फी राजनीतिक प्रतिवेदन पेश गर्दै प्रधानमन्त्री ओलीमाथि आरोप वर्षाएपछि विभिन्न कोणबाट बहस र प्रतिक्रिया आउने क्रम सुरु भएको छ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका थापाले सचिवालय बैठकमा अध्यक्ष दाहालले बाँडेको राजनीतिक दस्तावेज भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण भएको बताएका छन्।

“अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो,” थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन।”


प्रतिक्रिया दिनुहोस्