मंसिर ३ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : २८


काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ः२५ मा सुरु भएको बैठक करिब आधा घन्टा मात्र बसेर सकिएको छ।

अर्को बैठक मंसिर ३ गते दिउसो १ बजे बस्ने गरी आजको सचिवालय बैठक सम्पन्न भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा असन्तुष्ट पक्ष लगायत नौ सदस्‍यहरुको उपस्थिति थियो।

बैठक माग गर्दै कात्तिक २२ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र र त्यसको जवाफमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई दिएको पत्र अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए।

लामो विवादपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट समूहको अनुरोध अनुसार बैठक बसाल्न सहमत भएका थिए।

आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न सहमत भएका थिए।

 


प्रतिक्रिया दिनुहोस्