अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल आज बंगलादेशसँग भिड्दै

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  २ : १०


काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग भिड्दैछ ।

नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ । मुजिब वर्ष ’फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे सुरु हुनेछ ।

नेपालले अर्को खेल आउँदो मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् ।

विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन । बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राख्ने खेलाडीले बताएका छन् ।

अहिलेसम्म नेपाल र बंगलादेश कुल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्