नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाउनेबारे सहमति

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  २ : ११


नेपालको राष्ट्रिय बसपार्कको रुपमा रहेको नयाँबसपार्कलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नेबारे यातायात व्यवसायी, मजदूर र बसपार्कबीच सहमति भएको छ।

देशमा प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ बसपार्कमा सञ्चालित टिकट बुकिङ काउण्टरलाई प्रविधिमैत्री बनाएर अगाडि बढ्नेबारे आज यातायात व्यवसायी, तीनवटै यातायात मजदूर सङ्गठन र
नयाँबसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिबीच सहमति भएको हो ।

सहमति पत्रमा ल्होत्से बहुउद्देश्यीयका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्य र तीनवटै ट्रेड युनियनका अध्यक्षले हस्ताक्षर गरेका छन।

कार्यक्रममा ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष कुँवरले सरकारले लिएको नीतिअनुसार नयाँ बसपार्कलाई व्यवस्थित र प्रविधिमैत्री बनाएर अगाडि बढ्न लागेको जानकारी दिए।

उनले बसपार्क भित्र कार्यरत कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गरी योग्यताका आधारमा कार्यविभाजन गरी सरकारले तोकेको सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

यस्तै, यातायात संस्थाको पहिचान सहितको सङ्केत बोर्ड राख्ने र दक्ष श्रमिकहरुबाट सेवा प्रदान गर्न आवश्यक व्यवस्था ल्होत्से सहकारीले गर्ने, झैझगडा गर्ने, डर धम्की दिने, कुटपीट गर्ने, बोर्ड च्यात्ने कार्य आगामी दिनमा कोही कसैले नगर्ने सहमति पत्रमा उल्लेख छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कर्माचार्यले यातायात क्षेत्रको सुधारका लागि उक्त सम्झौता गरिएको जानकारी दिए।

नयाँ बसपार्क राष्ट्रिय बसपार्क भएकाले यसलाई व्यवस्थित गर्ने जिम्मा व्यवसायी, मजदूर र ल्होत्सेको भएको उनको भनाइ छ।

यसैगरी, बसपार्क भित्र कार्यरत श्रमिकका लागि खानेपानी, शौचालय र सूचनापटी सहितको विश्राम गृहको व्यवस्थापन गर्ने, बसपार्कमा यातायात सञ्चालन, परिचालन व्यवस्थापन तथा समस्या समाधानका लागि बहुउदेश्यीय संस्था र तीनवटै मजदुर सङ्गठनहरु सम्मिलित तहगत कार्यदल बनाउने पनि सहमति बनेको छ।

नयाँ बसपार्कमा यातायत सेवा सञ्चालन तथा व्यवस्थापनमा कुनै समस्या आइपरेमा संयुक्त कार्यदलले सम्बोधन गर्ने सहमति बनेको ल्होत्से बहुउदेश्यी प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए।

ल्होत्से बहुउदेश्यीय प्रालिले प्रविधिमैत्री १४ टिकट काउण्टर निर्माण गरिसकेपनि बाँकी काउण्टर चाँडै नै निर्माण गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्