कोरोना सङ्क्रमित कर्मचारीलाई विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा लगियो

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : १८


काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको सङक्रमण अहिले नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा सङक्रमित कर्मचारीलाई विदा दिने विषयमा प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रसेवक सेवा प्रवाह गर्ने शिलशिलामा कोरोना संक्रमण पुष्टि भए, छुट्टै विदा दिने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी उक्त विदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको जानकारी दिए ।

अहिले कोरोना संक्रमण देखिएका कर्मचारीलाई छुट्टै विदा दिने हाल कानुनी व्यवस्था नरहेकाले विदा दिनुपर्छ भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको र उक्त प्रस्ताव छलफलमा रहेको प्रवक्ता अधिकारीले बताए ।

कोरोना पोजेटिभ देखिए पनि सामान्य अवस्थामा रहेको कर्मचारीलाई १४ दिन विदा, अर्को पोजेटिभ देखिए पछि हस्पिटलमा बस्नु पर्ने अवस्थाको कर्मचारीलाई भने हस्पिटल बसेभरीको विदा दिनु पर्ने प्रस्ताव मन्त्रालयले गरेको प्रवक्ता अधिकारीले बताए ।

हाल नेपालमा तीन तहमा गरी एक लाख ३८ हजार निजामती कर्मचारीको दरबन्दी रहेको छ । संघमा ५९ हजार, प्रदेशमा २२ हजार ५०० र स्थानीयमा ६७ हजार कर्मचारीको दरबन्दी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्