सेयर बजार साढे ३ वर्ष यताकै उच्च विन्दुमा, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : २०


काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार साढे ३ वर्ष वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज करिब २९ अंकले बढेर १७०० विन्दु पार गर्दै नयाँ उचाइमा पुगेको हो ।

यसअघि २०७३ चैत ३० गते नेप्से १७०० विन्दुमा कायम थियो ।

यसा साताका चार दिनमा मात्रै नेप्से परिसूचक करिब ७० अंकले बढेको छ भने असार यता करिब ५०० अंकले बढेको छ ।

बढ्दो बजारमा लगानीकर्ता ठूला कम्पनीको सेयरमा आकर्षित भएका छन् ।

बजारका ठूला नेपाल टेलिकम, पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, नागरिक लगानी कोष लगायत ठूला कम्पनीको सेयर कारोबार बढ्दै गएको छ । यी कम्पनीहरुको सेयर मूल्य पनि उच्च अंकले बढेको छ ।

सेयर बजार मापक सूचक नेप्से २८.८९ अंकले बढेर १७०७.६८ विन्दुमा पुगेको छ । यसदिन १९५ कम्पनीको १ करोड २५ लाख २३ हजार ६५१ कित्ता सेयर ४ अर्ब ९ करोड ९८ लाख ४ हजार ७४२ रुपैयाँमा कारोबार भएको छ । यस साता लगातार ४ अर्ब बढीको कारोबार भएको आज दोस्रो दिन हो ।

कारोबारमा आएका १२ वटा समूहमध्ये फाइनान्स समूह बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३४९.३२ अंकले बढेको छ भने व्यापार समूहको परिसूचकमा पोजेटिभ सर्किट लागेको छ ।

आज लगानीकर्ता नेपाल टेलिकमको सेयरमा झुम्मिएका छन् । यस साता उच्च कारोबार हुँदै आएको टेलिकमको आज सबैभन्दा धेरै २५ करोड ९० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

कारोबारकै आधारमा हिमालय डिस्ट्रिलरी र एनआइसी एशिया बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

बढ्दो बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।साल्ट्र ट्रेडिङ , लक्ष्मी इक्वीटी फन्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी, एनआइसी एशिया ग्रोथ फन्ड र सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्