रुसले भन्यो: हाम्रो कोरोना भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी देखियो

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : १३


एजेन्सी । रुसले आफ्नो कोरोनाविरुद्धको खोप स्पुतनिक भीले कोरोनाबाट ९२ प्रतिशतसम्म जोगाउने दाबी गरेको छ।

रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले संयुक्त रुपमा निर्माण गरेको खोपले कोरोनाबाट ९० प्रतिशतसम्म जोगाउने दाबी भइरहँदा त्यसको दुई दिनमै रुसले स्पुतनिक भी खोप कोरोनाविरुद्ध ९२ प्रतिशतसम्म प्रभावकारी रहेको बताएको हो।

संसारका अरू मुलुकभन्दा पहिला कोरोना भ्याक्सिन बनाउने लक्ष्यका साथ रूसले तेस्रो चरणको परीक्षण बिनै खोपलाई स्वीकृति दिएको हो।

त्यसपछि रूसले तेस्रो चरणको परीक्षण गरेको थियो। बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित हो। उनीहरूलाई भ्याक्सिनका दुबै डोज लगाइएको थियो।

भ्याक्सिन विकासमा महत्वपूर्ण भूमिका खेलेको र संसारभर वितरणको जिम्मा पाएको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भ्याक्सिनका दुई डोज लगाएका मानिसलाई कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशत कम भएको बताएको छ ।

रुसले गत अगष्टमै देशमा यस खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो छोरीमा पनि खोप प्रयोग गरेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्