चुरोट हराएको भन्दै साथीको हत्या !

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : ०३


पोखरा । पोखरामा सहकर्मीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीले सिन्धुली घर भई पोखरा महानगरपालिका वडा नम्बर ६ बसुन्धरापार्क बस्दै आएका २३ वर्षीय प्रेम भन्ने नन्दलाल श्रेष्ठलाई पक्राउ गरेको हो।

उनलाई कास्की प्रहरीले मंगलबार तनहुँ आबुखैरेनी नगरपालिका वडा नम्बर २ मार्क्यु सडकखण्डबाट पक्राउ गरेको हो।

उनीमाथि सोही ठाउँ बस्ने आफ्ना सहकर्मी आन्दाजी २५ वर्षीय कृष्ण चौधरीको हत्या गरेको आरोप छ।

उनीहरूले कवाडी सामान उठाउने काम गर्ने गरेको कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

कृष्ण चौधरीको हत्या गत शनिबार भएको हो। चौधरी र श्रेष्ठ एउटै ठाउँमा काम गर्ने हुँदा उनीहरू प्रायजसो सँगसँगै हुन्थे।

शनिवार रात उनीहरूले सँगै बसेर रक्सी खाएका थिए। रक्सी खाइरहँदा कृष्णको चुरोट हराउँछ। त्यही विषयमा उनीहरूबीच वादविवाद सुरू हुन्छ। त्यसपछि उनीहरूबीचको विवादले उग्र रूप लिन्छ।

श्रेष्ठले भने,कृष्णले चुलोमा आगो बाल्न राखिएको ढुंगाले प्रेमलाई हिर्काउँछ। पछि उसले त्यही ढुंगा समाएर उल्टै उसको टाउकोमा हिर्काउँछ।’

कुटपिटपछि घाइते भएका कृष्णलाई प्रहरीले पश्चिम क्षेत्रीय अस्पताल पोखरामा लगेको थियो। तर उनको उपचारको क्रममा मृत्यु भयो ।


प्रतिक्रिया दिनुहोस्