नेपाली भूमि मिचेको ‘भ्रामक प्रचार’ पछाडि नेपाली कांग्रेस रहेको चीनको आरोप

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : ५६


काठमाडौं । हुम्लामा नेपाली भूमि नमिचिएको दाबी चीनले बारम्बार गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनले नेपालको भूमि मिचेको बारे समाचार सार्वजनिक भएपछि चीनको विदेशमन्त्रालयले त्यसको खण्डन गरेको थियो ।

नेपालका तर्फबाट पनि केही समय अघि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भूमि नमिचिएको दाबी गरेका थिए ।

चीनले नेपालको भूमि नमिचेको दाबी सरकारले गरेपनि प्रमुख प्रतिपक्षी दलले भने संसदीय टोली नै हुम्ला पठाएको थियो जसले चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकालेको थियो ।

कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते कांग्रेसका जनप्रतिनिधिको टोली स्थलगत अध्ययनमा गएको थियो।

१० दिनको अध्ययनपछि उक्त टोलीले नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको थियो ।

तर चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्समा नोभेम्बर १० (मंगलवार) प्रकाशित एक रिपोर्टमा भने नेपाली कांग्रेससहित पश्चिमा शक्तिहरु चीनले भूमि मिचेको भन्नेमा लागेको आरोप लगाएको छ ।

‘भारत परस्त नेपाली राजनीतिक दल नेपाली कांग्रेस नै यस हल्लाको पछाडिको प्रमुख संगठन हो,’ रिपोर्टमा भनिएको छ।

कर्णाली प्रदेशका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य तथा पूर्व नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले चीनमाथि आक्षेप लगाउन सुरु गरेको र उनी अमेरिकामा एभिएसन स्कुलमा अध्ययन गरेकोसमेत रिपोर्टमा भनिएको छ।

उनलाई अमेरिकाको पक्षमा भारतको दिशा समातेर चीनमाथि आरोप लगाउने गरेको उल्लेख छ।

शाही नेतृत्वको टोली हुम्लामा अतिक्रमण भएको भनिएको स्थानको स्थलगत अध्ययनका लागि गएको थियो। त्यसैलाई आधार मानी भारतीय तथा पश्चिममा मिडियाहरुले चीन नेपालको सीमा विवादको हल्ला फैलाइएको रिपोर्टमा उल्लेख छ।

त्यस्तै रिपोर्टमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भन्दै कर्चन लामालाई उदृत गर्दै कांग्रेस नेता शाहीले सीमावर्ती गाउँमा तिब्बत विखण्डनकारीको झण्डा फैलाइरहेको आरोप समेत लगाएको छ।

भारत नेपालमा आफ्नो नियन्त्रण गुमाउँदै गएको अवस्थामा यस्ता हल्लाहरु फैलाउँदै गएको रिपोर्टमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्