आईपीएल फाइनल– दिल्लीले मुम्बईलाई दियो १५७ रनको लक्ष्य

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : ५५


काठमाडौं । कोरोना महामारीका बीच भारतबाहिर संयुक्त अरब ईमिरेट्स (यूएई)मा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (मंगलबार) फाइनल खेलमा साविक बिजेता मुम्बई इन्डियनले १ सय ५७ रनको लक्ष्य पाएको छ ।

पहिलोपटक आईपीएलको फाइनल खेलेको दिल्ली क्यापिटल्सले मुम्बईलाई जीतका लागि १ सय ५७ रनको लक्ष्य दिएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको छ ।

दिल्लीका लागि कप्तान श्रयेस ऐय्यरले अविजीत रहँदै अर्धशतकीय पारी खेले । ५० बलको सामना गरेका ऐय्यरले ६५ रन बनाए ।

यस्तै, रिसभ पन्तले पनि अर्धशतकीय पारी खेल्दै ३८ बलमा ५६ रन बनाए । शेखर धवनले १५ रनको योगदान गरे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

दिल्लीविरुद्ध मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए भने नेथन कोल्टरनाइलले २ तथा जयन्त यादवले १ विकेट लिए ।

मुम्बई आईपीएलको साविक विजेता टोली हो भने दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा खेल्दै छ ।

दिल्लीमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि आवद्ध छन् । तर, यसअघिका सबै खेलमा जस्तै फाइनल खेलमा पनि दिल्लीले सन्दीपलाई बेञ्चमै राखेको छ । अर्थात् उनी फाइनल खेलमा पनि दिल्लीको प्लेइङ सेटमा परेका छैनन् ।

 


प्रतिक्रिया दिनुहोस्