ओलीले प्रचण्डलाई भने- भिड्नै खोजेको हो ?

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : २९


काठमाडौं । पार्टी बैठक बोलाउने विषयमा नेकपाका दुई अध्यक्षबीच मंगलबार पनि तनावपूर्ण संवाद भएको छ ।

बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बस्नुअघि पार्टी अध्यक्ष प्रचण्ड ओलीको बोलावटमा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

बैठक बस्न सहमति दिनुस् भन्न गएका प्रचण्डलाई ओलीले पुरानै अडान दोहोर्‍याएर पठाएको एक सदस्यले बताए ।

सचिवालयका एक सदस्यका अनुसार दाहालले सचिवालय बैठकमा ओलीसँग भेटबारे बिफ्रिङ गरेका थिए । ‘मैले बिहीबार बैठक बसौं भनें । तर, उहाँ (ओली) ले तुरुन्तका तुरुन्तै किन गर्नुपर्‍यो ? पहिला हामी सहमति गरौं । त्यसपछि बैठक बसौंला भन्नुभयो,’ प्रचण्डले ओलीसँगको भेटवार्तामा भएको कुराकानीबारे प्रचण्डले गरेकाे ब्रिफिङ उद्धृत गर्दै नेकपाका एक सचिवालय सदस्यले भने, ‘त्यसपछि मैले अब तुरुन्तै बैठक गर्नुपर्छ भनें। हामीले हिजोसम्म समय दियौं । अब भोलि तपाईं बाहिर जाने हो भने पनि पर्सि गरौं भन्ने प्रस्ताव गरेको थिएँ ।’

दाहालले ओलीको भनाइ उद्धृत गर्दै बैठकमा बिफ्रिङ गरेका थिए, ‘तपाईंहरु भिड्नै खोजेको हो ? भिड्नै खोजेको हो भने भिडौं । तपाईंहरु एक्सनमा जानुभयो भने मैले भनेकै छु, म महाएक्सनमा जान्छु ।’

प्रचण्डले सचिवालयको बैठक त्यसरी रोकेर राख्न नहुने बताउँदै सहमति दिन पुनः जोड दिएका थिए ।

ओलीले ‘महासचिव विष्णु पौडेलसँग पनि सल्लाह गर्छु’ भनेर पन्छाएको ती सदस्यको जिकिर छ ।


प्रतिक्रिया दिनुहोस्