जो बाइडन– पारिवारिक वेदना झेलेका वयोवृद्ध नेता

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ७ : २८


काठमाडौं । करिब ५० वर्षसम्म सार्वजनिक क्षेत्रमा काम गरेको तथा दुई पटक उप–राष्ट्रपति पद सम्हालेको अनुभव भएका जो बाइडन अमेरिकाको नयाँ राष्ट्रपति चुनिएका छन् ।

आउँदो डिसेम्बर महिनामा ५ सय ३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा हुने छ । र, सम्भवतः जनवरी महिनादेखि उनले राष्ट्रपतिको रुपमा ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उप–राष्ट्रपति रहेका बाइडन दशकौंको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ताका रुपमा परिचित छन् । बाइडनलाई सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्ने राजनीतिक व्यक्तित्वका रुपमा पनि लिइन्छ ।

बाइडन अमेरिकाको इतिहासमा सबैभन्दा बृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपति पनि हुन् । अबको दुई सातापछि उनी उमेरले ७८ वर्ष पुग्दैछन् । राष्ट्रपतिको पहिलो (४ वर्षे) कार्यकाल पूरा गर्दा उनी ८२ वर्ष पुगिसकेका हुनेछन् ।

यसअघि डोनाल्ड ट्रम्पले पनि बृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपतिको रेकर्ड बनाएका थिए । तर, बाइडनभन्दा ट्रम्प ४ वर्ष कान्छा हुन् । हाल ७४ वर्षका ट्रम्प सन् २०१६ मा राष्ट्रपति निर्वाचित हुँदा ७० वर्षका थिए ।

बाइडेनको संघर्ष र पारिवारिक पृष्ठभूमि

जो बाइडनको जन्म सन् १९४२ को नोभेम्बर २० मा पेन्सिल्भेनिया राज्यको स्त्रान्टमा एक मध्यम वर्गीय आइरिश–क्याथोलिक परिवारमा भएको थियो । उनको पूरा नाम सोजेप रोबिनेट बाइडन जुनियर हो । उनका पिता जोसेप बाइडन सिनियर सफाइ कारखाना र कार बेच्ने कम्पनीमा काम गर्थे । उनका अलावा बाइडनका अन्य ३ भाई–बहिनीहरु थिए ।

पहिलोपटक अमेरिकी सिनेटमा निर्वाचित हुँदाताका बाइडन, तस्वीर– गेट्टी ईमेज

पछि उनको परिवार पेन्सिल्भेनिया छाडेर अमेरिकाको उत्तर–पूर्वी राज्य डेलावेयर गयो । डेलावेयरमै विद्यालय तहको पढाइ पछि बाइडनले युनभर्सिटी अफ डेलावेयर तथा साइराकुज ल स्कूलबाट आफ्नो अध्ययन पूरा गरे ।

सक्रिय राजनीतिमा संलग्नता

विद्यालय तहकै अध्ययनका क्रममा परिवारलाई सहयोग गर्न र आफ्नो पढाइको शुल्क तिर्नका लागि बाइडनले विद्यालयका झ्यालहरु पुछ्ने र विवाह समारोहमा बगैंचा सफा गर्नेलगायत कामहरु गरे ।

बाइडनले सन् १९६६ मा नीलिया हन्टरसँग विवाह गरे । सन् १९६८ मा उनले कानूनमा स्नातक गरे । त्यसपछि उनले एक ल फर्ममा पनि कानूनी अभ्यास थाले । कानूनी अभ्यासकै क्रममा उनले डेमोक्रेटिक पार्टीको सदस्यता लिएर राजनीतिक गतिविधि गर्न थाले ।

आफ्नो राजनीतिक ‘करिअर’को शुरुवातमा उनले अमेरिकी बाबालिकाहरुको बीच नश्लीय भेदभाव कायम गर्नका लागि एकसाथ पढाउने कामको विरोध गर्नेवालाहरुलाई साथ दिए ।

त्यतिबेला दक्षिणका अमेरिकी राज्यहरु यो कुराको विरुद्धमा थिए कि गोरा अमेरिकी बच्चाहरुलाई बसमा भरेर कालाजातिको बाहुल्यता भएको क्षेत्रमा लगियोस् ।

पारिवारिक वेदना झेलेका नेता

सन् १९७२ मा पहिलोपटक अमेरिकी सिनेटको चुनाव जितेका बाइडन शपथ लिने तयारी गरिरहेका थिए, त्यहि बेला एक कार दुर्घटनामा उनकी पत्नी नीलिया र छोरी नाओमीको ज्यान गयो । उक्त दुर्घटनामा उनका दुई छोरा ब्यू र हन्टर पनि घाइते भए ।

बाइडनका दुई छोरामध्ये ब्यूको सन् २०१५ मा ४६ वर्षको उमेरमा ब्रेन ट्यूमरबाट मृत्यु भयो ।

कम उमेरमै परिवारका निकट सदस्य गुमाएका कारण अमेरिकीहरुले बाइडनसँग निकटता महशुस गर्छन् । आम मानिसलाई लाग्ने गर्छ कि यति ठूलो राजनीतिक हस्ती र सत्ताको नजिक हुँदा पनि बाइडनले ती पीडाहरुको पनि जिन्दगीमा सामना गरेका छन्, जोसँग आम मानिसको वास्ता हुन्छ ।

यद्यपि वाइडनको परिवारको एक हिस्साको कथा भने धेरै फरक छ । खास गरेर उनका दोस्रा छोरा हन्टरको ।

बाइडनका छोरा हन्टरले वकालतको पढाइ पूरा गरेर ‘लबिङ’को काम शुरु गरेका थिए । उनी कम्पनीहरुको पक्षमा विभिन्न विषयलाई लिएर ‘लबिङ’ गर्थे । तर, त्यसपछि उनको जीवन ‘बेलगाम’ बन्न पुग्यो ।

हन्टरकी पहिली श्रीमतीले उनीविरुद्ध मदिरा र ड्रग्सको लतका साथै नियमित रुपमा स्ट्रिप क्लब जाने गरेको आरोप लगाउँदै अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएकी थिइन् । कोकिन सेवन गरेको मामिलामा दोषी पाइएपछि हन्टरलाई अमेरिकी नौसेनाले जागिरबाट निकालिदिएको थियो ।

हन्टरले आफ्नो निजी जिन्दगीलाई जस्तो ‘तमासा’ बनाए, त्यसबाट बाइडनले धेरै राजनीतिक चुनौती र धक्काहरु झेल्नु पर्‍यो । पछिल्लो वर्ष मात्रै हन्टरले दोस्रो विवाह एक यस्ती महिलासँग गरे, जोसँग मात्रै दुई हप्ता अगाडि उनको भेट भएको थियो । यसका अतिरिक्त हन्टरको ‘अस्वभाविक आम्दानी’लाई लिएर पनि बाइडनको आलोचना हुने गर्छ ।

गलत बाक्य बोल्ने नराम्रो गुण भएका मानिस

बाइडन मतदाताहरुलाई आकर्षित गर्न सक्ने नेता मानिन्छन् । तर, कतिपय अभिव्यक्तिका कारण उनलाई ‘कुनै पनि बेला गलत बाक्य बोल्न सक्ने नराम्रो गुण भएका मानिस’ पनि भन्ने गरिन्छ ।

बाइडनले सन् १९७२ मा पहिलोपटक अमेरिकी सिनेटको चुनाव जितेका थिए । सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उप–राष्ट्रपति रहेका बाइडन योभन्दा पहिले २ पटक अमेरिकी राष्ट्रपतिको उम्मेद्वारी दौडमा पनि सहभागी भएका थिए ।

बाराक ओबामाका साथ बाइडेन, तस्वीर– एएफपी

पहिलोपटक १९८८ र दोस्रो पटक २००८ मा उनी राष्ट्रपति चुनाव पदको उम्मेद्वारी दौडमा सामेल भएका थिए ।

बाइडनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपति पदको उम्मेद्वारी दौडबाट आफूलाई यो भनेर अलग गरेकी उनले ब्रिटिश लेबर पार्टीका नेता निल किनकको भाषण चोरी गरेका थिए ।

भिडका सामुन्ने बोल्दाबोल्दै चिप्लिँदा उनको पहिलो प्रचार अभियान शुरु हुनुभन्दा पहिल्यै ‘खेर’ गएको थियो ।

एउटा र्‍यालीमा भाषण गर्दै उनले भनेका थिए, ‘मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे ।’ उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए ।

तर, वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् । (उनले त्यो वाक्य र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए ।

पछि ‘जो बम’का नामले परिचित बन्न पुगेका यस्ता विभिन्न गल्तीको शृङ्खलाको त्यो पहिलो कडी थियो ।

सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बखान गर्दै उनले आफ्नो भाषणमा भनेका थिए, ‘मैले आठ जना राष्ट्रपतिलाई चिनेको छु, तीन जनालाई त अत्यन्त निकट रूपमा ।’

विचार नगरी उनले भनेको कुरालाई निकट मित्रता मात्र नभई यौन सम्बन्ध रहेको रूपमा समेत अर्थ्याउन सकिन्थ्यो ।

बाइडेन सन् २००८ मा पनि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारी दौडमा सामेल भए । तर, त्यतिबेला बाराक ओबामा पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाइए ।

विदेश नीतिका अनुभवी राजनीतिज्ञ

समर्थहरुहरु बाइडनको सबैभन्दा राम्रो पक्ष विदेश नीतिका सन्दर्भमा उनको अनुभवलाई मान्छन् । बाइडनसँग करिब ५ दशकको राजनीतिक अनुभवका साथै कूटनीतिको पनि लामो अनुभव छ । यो उनको सबैभन्दा ठूलो शक्तिको रुपमा पनि राजनीतिक मैदानमा देखा पर्‍यो ।

जो बाइडन पहिलो सिनेटको विदेश मामिलाको समितिका अध्यक्ष पनि भइसकेका छन् । साथै उनी दाबी गर्छन्– ‘मैले पछिल्लो ४५ वर्षमा विश्वका सबैजसो प्रमुख नेताहरुसँग भेट गरेको छु ।’

बाइडनले सन् १९९१ को खाडी युद्धको विरुद्धमा मत दिएका थिए । तर, सन् २००३ मा उनले इराकमाथि गरिएको हमलाको समर्थनमा मत दिएका थिए । यद्यपि पछि उनी इराकमा अमेरिकी हस्तक्षेपको विषयलाई लिएर चर्को आलोचक पनि भए ।

यस्ता मामिलामा बाइडन धेरैजसो संयमित भएर चल्ने गर्छन् । अमेरिकी कमाण्डोको जुन हमलाले पाकिस्तानमा ओसामा बिन लादेनलाई मारिदिएको थियो, बाइडनले राष्ट्रपति ओबामालाई उक्त हमला नगर्न सुझाव दिएका थिए ।

बाराक ओबामाले आफ्नो एक भाषणमा बाइडनको प्रशंसा गर्दै ‘अमेरिकालाई मिलेको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट उपराष्ट्रपति’ पनि भनेका थिए । बाइडन अफोर्डेबल केयर एक्ट, आर्थिक प्रोत्साहन प्याकेज र वित्तीय ओद्योग सुधार जस्ता ओबामाका निर्णयको भरपर्दा समर्थक पनि रहे ।

बाइडन डेलावेयर प्रान्तबाट ६ पटक सिनेटर चुनिएका छन् । सन् १९७२ मा पहिलोपटक सिनेटर निर्वाचित हुँद उनी सबैभन्दा कम उमेरका सिनेटर थिए । त्यतिबेला उनी ३० वर्षका थिए ।

आरोपबाट मुक्त हुन नसकेका व्यक्ति

कुनै पनि व्यक्तिले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको आरोप खेप्नु पर्ने नै हुन्छ । तर, सार्वजनिक व्यक्तित्वको हकमा भने केही आरोप ‘अनपेक्षित’ हुन्छन् ।

त्यस्तै, अनपेक्षित आरोप बाइडेनमाथि पनि लागेका छन् । गत वर्ष ८ जना महिलाले बाइडनले आफूहरुलाई अनेपेक्षित तरिकाले छोएको, अंकमाल गरेको वा चुम्बन गरेको आरोप लगाएका थिए ।

८ जना महिलाले आरोप लगाएपछि सञ्चारमाध्यमहरुमा बाइडनका विभिन्न किसिमका तस्वीरहरु समेत सार्वजनिक भएका थिए । ती तस्वीरहरुमा बाइडनले महिलाको कपाल सुँघ्दै गरेको पनि देखिएको थियो ।

ती आरोपको जवाफमा बाइडनले महिलालाई अभिवादन गर्नेक्रममा अब थप सावधान हुने बताएका थिए ।

बाइडेनमाथि अमेरिकी अभिनेत्री तारा रीडले यौन हिंसा गरेको आरोप पनि लगाएकी थिइन् । गत मार्च महिनामा अभिनेत्री तारा रीडले ३० वर्ष अगाडि बाइडनले आफूमाथि यौन हिंसा गरेको बताएकी थिइन् । तर, बाइडनले भने त्यो आरोप अस्वीकार गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्