चेल्सी प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा, युनाइटेड पराजित

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  २ : २४


काठमाडौं । सेफिल्ड युनाइटेडलाई फराकिलो अन्तरले पराजित गर्दै चेल्सी प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले सेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिज्डमा भएको खेलमा सुरुवाती अग्रता भने सेफिल्ड युनाइटेडले लिएको थियो ।

खेलको नवौं मिनेटमा डेभिड म्याकगोल्ड्रिकले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा टमी अब्रहमले गोल गर्दै खेल बराबरीमा ल्याए ।

३४औं मिनेटमा बेन चिलविलले गोल गरे । उनले हाकिम जियाचको पासमा गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा थप दुई गोल गर्दा थिएगो सिल्भा र टिमो वेरनरले एक-एक गोल गरे । ७७औं मिनेटमा जियाचको फ्रिकिकमा सिल्भाले हेडरमार्फत गोल गरेका थिए ।

सिल्भाको यो प्रिमियर लिगमा डेब्यु गोल हो । यसै सिजन उनी फ्रिट्रान्सफर विन्डोजमा फ्रेन्च लिग वान क्लब पीएसजीबाट चेल्सी पुगेका थिए ।

त्यस्तै ८०औं मिनेटमा कान्टेको पासमा वेरनरले गोल गर्दै चेल्सीलाई ४–१ को जित दिलाए । यो जितसँगै चेल्सी आठ खेलबाट १५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस्