दुर्लभ हिउँचितुवाको आहारा नाउरको गणना गरिँदै

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ११ : १३


नेपालकै ठूलो शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु नाउरको गणना गर्ने भएको छ।

विश्वमै दुर्लभ मानिने वन्यजन्तु हिउँचितुवाको प्रमुख आहाराको रुपमा रहेको नाउरको दोहोरो पर्यवेक्षण सर्वेक्षण विधिबाट गणना गर्ने निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने जगदुल्ला, फोक्सुण्डो, साल्दाङलगायत छ वटा नाउर ब्लगमा पुगेर गणना गरिने निकुञ्जको भनाइ छ।

गणनाका लागि निकुञ्ज, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, चोरी सिकारी नियन्त्रण समिति, विश्व वन्यजन्तु कोषका प्रतिनिधि, हिउँचितुवा संरक्षण समितिसहित ६५ जनाको टोली परिचालन गरिने बताइएको छ।

निकुञ्जको एक हजार तीन सय ६६ वर्गकिलोमिटर क्षेत्रमा पुगेर नाउर गणना गरिनुका साथै गणनामा जाने टोलीलाई विशेष तालिमसमेत दिइने बताइएको छ।

करिब दुई हप्ता समय लगाएर नाउरको गणना गरी तीनदेखि चार महिनाभित्र सङ्ख्या सार्वजानिक गरिने निकुञ्जले जनाएको छ । अबको एक÷दुई दिनभित्रै गणनाका लागि टोली हिँड्ने बताइएको छ।

प्रत्येक वर्ष गरिँदै आएको नाउर गणनाले हिउँचितुवा तथा नाउर संरक्षणको वर्तमान अवस्था बुझाउनुका साथै कार्यालयलाई सोहीअनुसारको सुरक्षा रणनीति अपनाउन सहयोग पुग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।

उनका अनुसार सन् २०१८ मा निकुञ्जको डोल्पा क्षेत्रमा दुई हजार सात सय दुई र सन् २०१९ मा चार हजार एक सय ३६ वटा नाउर गणना गरिएको थियो।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक तथा प्राविधिक सहयोगमा नाउर गणना गर्न लागिएको हो।

यो गणनाले दुर्लभ वन्यजन्तु हिउँचितुवा र नाउरको सङ्ख्या आकँलनमा समेत ठूलो सहयोग पुग्ने निकुञ्जले जनाएको छ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सबैभन्दा धेरै हिउँचितुवाको घनत्व भएको निकुञ्ज रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्