ट्रम्पको सम्भावना सकियो, अमेरिकाको नयाँ राष्ट्रपति बाइडेन हुने निश्चित!

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ३ : ०६


काठमाडौं । अमेरिकामा अबको राष्ट्रपति डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन हुने निश्चित भएको छ।

बहालवाला राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको प्रभाव मानिएको पेन्सलभेनिया राज्यमा पनि बाइडेनले अग्रता लिएपछि ट्रम्पको सम्भावना लगभग सकिएको छ।

२० इलेक्टोरल मत रहेको पेन्सलभेनियामा बाइडेनले हाल ५ हजार ६ सय मतको अग्रता लिएका हुन्।

यस्तै गणना जारी रहेका जर्जिया, एरिजोना र नेभाडा राज्यमा पनि बाइडेनको अग्रता कायमै छ। हाल नर्थ क्यारोलाइनामा मात्र ट्रम्प अगाडि छन्।

हुलाकमार्फत पोष्ट गरिएका भोट गणना सुरु भएपछि जर्जिया र पेन्सिलभेनियामा वाइडेनले अग्रता लिएका हुन् । नतिजा हेर्दा उनलाई ठुलो अन्तरमा निर्वाचन जित्न मद्धत पुर्याएको छ।

अमेरिकामा राष्ट्रपति हुन २७० इलेक्टोरल भोट आवश्यक पर्छ। हालसम्मको नतिजा अनुसार बाइडेनले २६४ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने ट्रम्पले २१४। बाइडेनलाई राष्ट्रपति निर्वाचित हुन मात्र ६ इलेक्टोरल मत आवश्यक छ।

बाइडेनले पहिला देखिनै अग्रता लिइरहेका एरिजोना र नेभेडामा मात्रै विजय हासिल गर्दा पनि २७० इलेक्टोरल भोट पुर्याएर राष्ट्रपति हुनसक्ने अवस्था थियो तर, उनले जर्जिया र पेन्सिलभेनियामा पनि अग्रता लिए पछि विजयको अन्तर निकै फराकिलो हुने अवस्था सिर्जना भएको छ।

बाइडेनले अग्रता लिइरहेका सवै राज्यमा विजय प्राप्त गर्दा उनको इलेक्टोरल मत ३०६ पुग्ने देखिएको छ ट्रम्पले अहिले अग्रता लिइरहेका नर्थ क्यारोलिना र अलास्कामा विजय गर्दा २३२ मा सिमित हुनेछन् ।

राष्ट्रपति ट्रम्पले हिजो आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालत गएर भएपनि यो निर्णय उल्टाउने बताएका थिए तर पेन्सिलभेनिया र जर्जियामा पनि हारे ट्रम्प थप कदम नउठाउने मुडमा रहेको ठानिएको छ।

हुलाकमार्फत आएका मतहरु वढी डेमोक्रेटिक पार्टीका भएकोले अहिले अग्रता लिइरहेका ठाऊहरुमा वाइडेन हार्ने संभावन न्यून छ। तथापि पेन्सिलभेनियामा १ लाखभन्दा वढी मत गन्न वांकी नै छ।

जर्जियामा बाइडेन १०९७ मतले अगाडि छन् । १६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका थिए। तर, यसपटक नतिजा फरक देखियो।

जर्जियाको विजयलाई डेमोक्रेटिक पार्टीहरुले निकै ठुलो उपलव्धिको रुपमा लिएका छन् जहां विल क्लिन्टनपछि डेमोक्रेटिक उम्मेद्वारले जित हासिल गरेका थिएनन्।

यो निर्वाचनमार्फत जो वाइडेनले अहिलेसम्मको इतिहासमा सवैभन्दा वढी लोकप्रिय मत प्राप्त गर्ने भएका छन् भने पहिलो पटक अश्वेत महिलालाई उपराष्ट्रपति वनाएर इतिहास रच्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस्