काठमाडौं । वातावरणीय हिसावले विद्युतीय गाडी धेरै उपयोगी मानिन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि विद्युतीय गाडिको खपत बढ्दो छ ।
सार्वजनिक यातायातको क्षेत्रमा पनि विद्युतीय बसहरुको प्रयोग बढ्दो छ । प्रदुषण घटाउन भन्दै धेरै देशले अहिले शहरी यातायातलाई विद्युतीय बनाउन जोड दिइरहेका छन् ।
नेपालमा पनि केही कम्पनीहरुले विद्युतीय बस सञ्चालनमा ल्याएका छन् ।
सरकार समेतको लगानी रहेको साझा यातायातले पनि विद्युतीय बस ल्याएको छ । यद्यपि ‘विभिन्न प्रक्रियागत कारण’ले साझाका विद्युतीय बस सडकमा भने गुडेका छैनन् ।
विद्युतीय बस उत्पादनका लागि चीन विश्वमै अग्र स्थानमा आउँछ । नेपालमा सुन्दर यातायातले काठमाडौंको चक्रपथमा सञ्चालनमा ल्याएका विद्युतीय बसहरु पनि चीनमै बनेका हुन् ।
विश्व बजारमा अहिले बीवाईडी (चीन) युटोहङ (चीन), एबी भोल्भो (स्वीडेन), फोटोन (चीन)का विद्युतीय बसहरु बढी मात्रामा बिक्री भइरहेका छन् ।
वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट चल्ने बस, कार, मोटरसाइकल, स्कुटर आदिको प्रयोगमा नेपाली उपभोक्ताहरुको पनि रुची बढ्दै गइरहेको छ ।
मूल्यका हिसावले बिजुली बस पेट्रोलियम पदार्थ (डिजेल)बाट चल्ने बसभन्दा तीन गुणासम्म महङ्गो पर्न जान्छन् । तर, अत्याधुनिक सुविधासहित उपलब्ध हुने बिजुली बसको सञ्चालन खर्च एकदमै कम हुन्छ । जसका कारण व्यवसायीहरुले बिजुली बसबाट लामो समयसम्म नाफा आर्जन गर्न सक्छन् ।
बिजुली बसको उत्पादनमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको चिनियाँ कम्पनी फोटोन मोटर्सले पनि नेपालमा आफ्ना उत्पादन बिक्री गर्ने भएको छ । हाल यो कम्पनीले चीनसहित विश्वका ११० भन्दा बढी देशमा आफ्ना बिजुली बसहरु बिक्री गर्दै आइरहेको छ ।
फोटोनले छिमेकी राष्ट्र भारतमा पनि ५ सय करोड भारतीय रुपैयाँको लगानीमा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरेको छ । फोटोनका बिजुली बसहरु चीनसँगै भारतमा पनि उत्पादन हुनेछन् ।
नेपाली सडकको विशेषताअनुसार उपयुक्त मानिएका फोटोनका बसहरु इच्छुक नेपाली व्यवसायीले भारतसँगै चीनबाट पनि आयात गर्न सक्नेछन् ।
वातावरण मैत्री एवम् अत्याधुनिक सुविधा सम्पन्न यी बसहरुको वार्षिक कर नेपालको सन्दर्भमा नगण्य नै हुन्छ । यस्तै, नवीकरण शुल्क पनि धेरै कम हुन्छ ।
नेपाली बजारमा फोटाने मोटर्सका बिजुली बसहरु १ करोड ७० लाखदेखि १ करोड रुपैयाँसम्ममा खरिद गर्न सकिने छ ।