कोरोनाबाट मृत्यु भइसकेका व्यक्तिले जिते अमेरिकामा चुनाव

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ४ : ५८


न्यू योर्क । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका एक व्यक्ति अमेरिकामा जारी निर्वाचनमा विजयी भएका घोषणा गरिएको छ ।

रिपब्लिकन पार्टीबाट नर्थ डाकोडा राज्य सभाका लागि उम्मेद्‌वार रहेका डेभिड अन्डलको कोरोना संक्रमणबाट अक्टोबर महिनामा मृत्यु भएको थियो । तर, मंगलबार सार्वजनिक भएक मतपरिणाममा उनी विजयी भएको घोषणा गरिएको छ ।

एनबीसी न्यूजका अनुसार अक्टोबर महिनामा कोरोनाभाइरसका कारण मृत्यु भएका अन्डलले नर्थ डाकोटाको राज्यसभाका लागि चुनाव जितेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीबाट चुनाव लडेका उनको विजय घोषणा मंगलबार गरिएको हो । उनले ८औं जिल्लाबाट राज्यको हाउस अफ रिप्रेजेन्टेटिभमा चुनाव जितेका हुन् ।

अन्डलले यसअघि पनि निकै बलिया मानिएका डेमोक्रेट उम्मेदवारलाई पराजित गर्दै चुनाव जितेका थिए । एनबीसी न्यूजका अनुसार उनी बाँचिरहेका भए उनको यो दोस्रो कार्यकाल हुनेथियो ।

नर्थ डकोटाका व्यवसायी समेत रहेका ५५ वर्षीय अन्डलको अक्टोबर ५ मा मृत्यु भएको हो । मृत्युको एक महिनापछि उनले चुनाव जितेको घोषणा भयो । उनले ३५.५३ प्रतिशत मत प्राप्त गरेका छन् । उनको मृत्युपछि उक्त स्थानमा रिपब्लिकन पार्टीले अरु कसैलाई छनौट गर्न सक्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्