मेस्सी र पिकेको गोलसँगै बार्सिलोना विजयी

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ३ : ०३


काठमाडौं । कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेको गोलसँगै स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा विजयी भएको छ ।

बुधबार भएको खेलमा बार्सिलोनाले डायनामो क्युभलाई २–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेस्सी र जेरार्ड पिकेले एक–एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो ।

बार्सिलोनाका लागि पिकेले खेलको ६५औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

७५औँ मिनेटमा भिक्टोरले पाहुना टोली डायनामोका लागि एक गोल फर्काए । जितसँगै बार्सिलोनाले समूह ‘जी’ अन्तर्गत तीन खेलबाट ९ अंक जोडेको छ । बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्