मुस्ताङको लोमान्थाङमा सशस्त्रको बीओपी

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ८ : ०७


काठमाडौं । मुस्ताङको लोमान्थाङ–४ नेचुङमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी)को पक्कि भवन शिलान्यास गरिएको छ ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बुधवार बिओपी भवनको शिलान्यास गरेका हुन् ।

२४ कोठाको सो भवन ६ करोड लागतमा एक बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी संभौता भएको सशस्त्र प्रहरी प्रवक्ता (डिआईजी) राजु अर्यालले रातोपाटीलाई बताए ।

शिलान्यास भएको भवन मुस्ताङ सदरमुकाम जोमसोमबाट १ सय ९ किलोमिटरका दुरीमा छ ।

समुन्द्र सहतहबाट ४ हजार २ सय मिटरको उचाईमा बन्न लागेको सो भवन चिसो मौसम अनुकूल हुनेगरी निर्माण गर्न लागिएको छ ।

०७७ जेठ १५ मा भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट स्थापना गरिएको थियो ।

मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सिमा अनुगमन, पिल्लर निरीक्षण र काउन्टरपार्टसँग समन्वय तथा गस्ति पट्रोल गरिरहेको छ ।

असोज बाट वैशाखसम्म भारी हिमपात हुने लोमान्थाङमा सशस्त्र प्रहरी बल प्रतिकुल मौसमका बावजुद १२ महिना नै खटिन्छ ।

उत्तरी सिमानामा लोमान्थाङ सहित ७ वटा विओपी स्थापना गरिएको छ । देशभर सशस्त्रका १ सय ८३ वटा बिओपी छन् ।

 


प्रतिक्रिया दिनुहोस्