कोरोनाले विराटनगरमा एकै दिन ६ जनाको मृत्यु

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : ४८


विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररतमध्ये ६ जनाको मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालमा तीन, न्युरो अस्पतालमा दुई र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये एकजना जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिका नेता पनि छन् ।

उनी सुनसरीको धरान–१५ का बासिन्दा हुन् । पीसीआर परीक्षण गराउँदा ६३ वर्षीय पुरुषलाई असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमणसँगै निमोनियाको समस्या थपिएपछि स्वास्थ्य अवस्था गम्भीर बन्दै गएका कारण उनलाई विराटनगरको न्युरो अस्पतालमा कात्तिक १२ गते भर्ना गरियो । त्यसअघि उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदै थियो ।

किराँत याक्थुम चुम्लुङका केन्द्रीय सचिवसमेत रहेका उनलाई क्यान्सरको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । उनी क्यान्सरको नियमित किमोथेरापी गराउँदै आएका थिए ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार बिहान ३:३० बजेतिर मृत्यु भएको हो ।

मृतक पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समयदेखि लड्दै आइरहेका थिए । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका उनी जनता समाजवादी पार्टीको लिम्बूवान राष्ट्रिय समितिका उपाध्यक्ष हुन् । उनी धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा मेयरको उम्मेदवार बनेका थिए ।

त्यस्तै न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–११ का ४९ वर्षीय पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ । प्रशासकीय अधिकृत आचार्यका अनुसार उपचारका क्रममा बिहान ३:५० बजेतिर उनको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गराउँदा कात्तिक १४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । गम्भीर अवस्थाका उनलाई त्यही दिन न्युरोको आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको जानकारी आचार्यले दिए ।

यता मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत तीन जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये एक जना सिरहा सुखीपुरका ७४ वर्षीय पुरुष छन् । कोरोना पुष्टि भएपछि उपचारका लागि कात्तिक १५ गते अस्पताल भर्ना गरिएका उनको सोमबार राति ११ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ४८ वर्षीय पुरुषको पनि विराटमै ज्यान गएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई कात्तिक ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार साँझ ७ बजेतिर उनको मृत्यु भएको जानकारी देवले दिए ।

विराटमै उपचाररत धरान–१६ का ७६ वर्षीय वृद्ध पुरुषको पनि मंगलबार बिहान मृत्यु भएको छ ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि कात्तिक ९ गते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । देवका अनुसार वृद्ध पुरुषको उपचारका क्रममा बिहान ६:३० बजेतिर मृत्यु भएको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उदयपुर घर भएका संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी–६ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्