गाडीले किचेर कुकुर मारेको भन्दै गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : ०५


काठमाडौं । गाडीले किचेर कुकुर मारेको अभियोगमा कारबाहीको माग गर्दै गायक तथा मोडल दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

बागबजार स्थित आरधना कम्प्लेक्सको पार्किङ स्थल (श्रेष्ठ टेलरिङको प्राङ्गण)बाट बाहिरिने क्रममा थापाले चलाइरहेको बा १९ च ८९३७ नम्बरको हुण्डाई क्रेटा गाडीले कुकुरलाई ठक्कर दिएको थियो ।

दुर्गेशको गाडीले ठक्कर दिएको कुकुर २ घण्टापछि मरेको कुकुरधनीको भनाइ छ । कुकुरधनी बीरबहादुर बस्नेतले थापामाथि कानून अनुसार कारबाहीको माग गर्दै महानगरीय प्रहरी बृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।

कुकुरधनी बस्नेतका अनुसार दुर्गेसले गाडी चलाउँदा कुकुरलाई ठक्कर दिएको थाहा पाएका थिए । तर, उपचार गर्नेभन्दा उनी त्यहाँबाट गाडी लिएर फरार भएका कुकुरधनी बस्नेतको आरोप छ ।

दुर्गेशको गाडीले कात्तिक ६ गते बेलुका ८ बजेतिर कुकुरलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट कुकुर मरेको थाहा पाएपछि कुकुरको संरक्षण गर्ने संस्था क्याट नेपालले सो विषयमा प्रहरी कार्यालयलाई जानकारी गराएको थियो ।

प्रहरीले बोलाउँदा समेत कार्यब्यस्तताको कारण आउन नभ्याएको भन्दै थापाले आलटाल गरेको क्याट कुकुरधनी बस्नेतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्